काठमाडौँ । कात्तिक ८, चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिक प्रयोग बढ्दै जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार आफैं औषधि सेवन गर्ने, अपूरो डोजमा सेवन रोकिने र बिना परीक्षण एन्टिबायोटिक दिने प्रवृत्तिका कारण देशभर एन्टिमाइक्रोबियल रेसिस्टेन्स नामक मौन महामारी फैलँदै गएको छ।
विराटनगरकी सरिता कार्कीले छोरा बिरामी पर्दा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिक पहिलोपटक प्रभावकारी भए पनि दोस्रोपटक काम नगरेपछि चिन्तित बनेकी थिइन्। मोरङका रामबहादुर राईले पनि दाँत दुख्दा पटक पटक एन्टिबायोटिक सेवन गर्दा औषधिले असर गर्न छाडेको बताए।
कोशी अस्पतालका बालरोग विभाग प्रमुख डा.रामनारायण चौधरीका अनुसार पछिल्ला वर्षमा सामान्य संक्रमणका लागि प्रयोग हुने औषधि पनि काम नगर्ने बिरामी बढेका छन्। उनले भने, “एन्टिबायोटिकको दुरूपयोगले ब्याक्टेरिया झन् बलियो बन्छ, यो अत्यन्तै खतरनाक संकेत हो।”
नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरि घिमिरेले चिकित्सकको सल्लाहबिना औषधि सेवन, अपूरो डोजमा रोक्ने र बिना परीक्षण एन्टिबायोटिक प्रयोग गर्ने बानीले बढाएको बताए। उनका अनुसार यस्तो प्रवृत्तिले रोग निको नहुने र मृत्युसमेत हुन सक्ने जोखिम बढाउँछ।
नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालका अनुसार, उपभोक्ता सचेत नभएसम्म यो समस्या समाधान हुन कठिन छ। उनले भने, “कहिलेकाहीँ उपभोक्ताको दबाबका कारण बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्री हुन्छ, जसले समस्या झन् बढाउँछ।” सङ्घले यो रोक्न अभिमुखीकरण तालिम र अनुगमन थालेको जानकारी उनले दिए।
पशु चिकित्सक विनोदकुमार शाहका अनुसार, एन्टिबायोटिकको गलत प्रयोग पशुपन्छीमा पनि व्यापक छ। “फार्ममा बिना सल्लाह औषधि प्रयोग गर्दा यसको अवशेष दूध, मासु र अण्डामार्फत मानिसको शरीरमा पुग्छ,” उनले बताए। उनका अनुसार नियन्त्रणका लागि “वन हेल्थ” दृष्टिकोण आवश्यक छ।
भाइरोलोजी विज्ञ डा.सन्तोष दुलालका अनुसार, विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई १० प्रमुख विश्वव्यापी जनस्वास्थ्य खतरामध्ये एक मानेको छ। रिपोर्टअनुसार, सन् २०५० सम्ममा एएमआरका कारण हरेक वर्ष विश्वभर १ करोड मानिसको मृत्यु हुनसक्ने अनुमान छ।
विज्ञहरूले एन्टिबायोटिकको गलत प्रयोग रोक्न सबै तहबाट समन्वित प्रयास आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र नियामक निकाय सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरे मात्र यो मौन महामारी नियन्त्रण गर्न सकिन्छ। विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।




.gif)





