काठमाडौँ । नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ बक्यौताका कारण निगम गम्भीर वित्तीय संकटमा परेको छ । सोमबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आम्दानीको ठूलो हिस्सा ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधारको आवश्यकता औँल्याएका हुन् ।
निमित्त महाप्रबन्धक कालाखेतीका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिडकालमा गरिएको उद्धार उडान र विभिन्न देशमा गरिएको रेस्क्यु उडानबापत सरकारबाट १३ करोड ७५ लाख रुपैयाँ उठाउन बाँकी छ । यसमध्ये सन् २००५ को भ्रमणबापतको ४ करोड २७ लाख, कोभिडकालीन औषधि ढुवानीको १ करोड ५४ लाख, पाकिस्तानको बाढी उद्धारको १ करोड १४ लाख र इजरायल उद्धार उडानको ५ करोड ७८ लाख रुपैयाँ रहेको छ । पटक-पटक पत्राचार गर्दा पनि यो रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा समस्या देखिएको उनले बताए ।कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको ब्याजदर क्रमश: ९.२५ र १०.५ प्रतिशत रहेको जानकारी दिँदै उनले ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जान सक्ने दाबी गरे ।
निगमको समस्याबारे बोल्दै कालाखेतीले भने, “नेपाल वायुसेवा निगमको मुख्य समस्या महँगो ब्याजदर, ठूलो ऋण दायित्व र विगतका सुधारसम्बन्धी प्रतिवेदन कार्यान्वयन नहुनु हो । सरकारी निकायहरूबाट चार्टर उडानबापतको करिब १३ करोड ७५ लाख रुपैयाँ प्राप्त हुन नसक्दा नगद प्रवाहमा समस्या परेको छ । निगमलाई सुधार्न ऋण पुनर्संरचना, ब्याजदर कटौती, सरकारी सहयोग र व्यवस्थापकीय सुधार आवश्यक छ । ब्याज खर्च घटाउन सकिए निगमलाई नाफामूलक बनाउन ठूलो सहजता हुनेछ ।”निगमले सस्तो ब्याजदरमा ऋण दिने निजी बैंकहरूको प्रस्ताव पाए पनि सञ्चय कोषको सर्तका कारण बाहिरिन नसकेको उनले जानकारी दिए । सञ्चय कोषको ऋण पूर्ण चुक्ता गरेपछि मात्रै अन्य वित्तीय संस्थामा जान सकिने सर्तले गर्दा निगम थप महँगो ब्याज तिर्न बाध्य छ । विगतमा गठित विभिन्न अध्ययन समितिहरूका सिफारिस कार्यान्वयन नहुनु र निर्णय गर्ने तहमा बस्नेहरू नै पछि कार्यान्वयनमा उदासीन हुनुले निगमको सुधार प्रक्रिया अझ जटिल बनेको उनले बताए ।




.gif)





