काठमाडौँ । कात्तिक ७, काठमाडौँको बसुन्धरामा मापदण्ड विपरीत औषधि बिक्री वितरण भइरहेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा औषधि बरामद गरेको छ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसी मा छापा मार्दा चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने औषधिहरू अनियमित रूपमा बिक्री वितरण भइरहेको भेटिएको हो।
प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार सो फार्मेसीबाट स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल, र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको छ।
फार्मेसी सञ्चालक सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम रहेको र औषधि व्यवस्था विभागसँगको समन्वयमा गरिएको प्रारम्भिक अनुसन्धानबाट औषधि मापदण्ड विपरीत बिक्री गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको औषधि परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाएको र थप अनुसन्धान अघि बढाइएको बताइएको छ।




.gif)





