काठमाडौँ । कात्तिक ६, यमपञ्चक समेत भनिने तिहारको मुख्य दिन आज देशभर श्रद्धा, आस्था र उल्लासका साथ भाइटीका मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका यस वर्ष तिथि वृद्धि भई तिहारको छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार, साइत हेरेर टीका लगाउनेका लागि बिहान ११ः३९ बजे अभिजित् मुहूर्त उत्तम रहेको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनु पर्ने बताइएको छ। यसरी बसेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने शास्त्रीय नियम छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, टीकाका पाँच मुख्य रङ, रातो, सेतो, पहेंलो, हरियो र नीलो, शास्त्रीय रूपमा उल्लेख गरिएको छ। टीका लगाइसकेपछि दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी लगायतका परिकार दिने, र दाजुभाइले दिदीबहिनीलाई कपडा वा दक्षिणा प्रदान गर्ने परम्परा छ।
दिदीबहिनी वा दाजुभाइ नभएकाका लागि बालगोपालेश्वर खुला, दिदीबहिनी वा दाजुभाइ नभएकाहरूका लागि आजैका दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजा तथा टीका लगाउने परम्परा छ। विसं २०३५ पछि हरेक वर्ष भाइटीकाका दिन यो मन्दिर सर्वसाधारणका लागि खुल्ने गरेको हो।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नभएकाहरूले पूजा र टीका लगाउने गर्छन्।
नेवार समुदायले यो दिनलाई किजापूजाका रूपमा मनाउने गर्छ। भक्तपुरका केही नेवारहरूले भने तलेजु मन्दिरका पुजारीको निर्णयअनुसार बुधबार नै किजापूजा सम्पन्न गरेका छन्।




.gif)





