काठमाडौँ । कात्तिक ४, आज मंगलबार कात्तिक कृष्ण औंसी परेको छ। हिन्दू धर्म अनुसार मंगलबार भगवान श्री गणेशको पूजा, अर्चना तथा व्रतको विशेष महत्व छ। शास्त्रअनुसार मंगलबार व्रत बस्दा, श्रीगणेशको पूजा गर्दा तथा नियमपूर्वक मन्त्र जप गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार भगवान गणेशको पूजा १६ विधिपूर्वक सम्पन्न गर्नुपर्छ। आह्वान देखि आरती र परिक्रमा सहितको पूजा विधिले श्रद्धालुलाई सुख, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास गरिएको छ। विशेषगरी लड्डु चढाएर पूजाआजा गर्दा भगवान गणेश अत्यन्तै प्रसन्न हुने जनविश्वास छ। यसबारे पद्मपुराणमा उल्लेख गरिएको कथा अनुसार गणेशले मातापिताको परिक्रमा गरेर श्रेष्ठता प्राप्त गरेपछि उनलाई लड्डु प्रदान गरिएको थियो।
मंगलबारको दिन केही कार्यहरू गर्न नहुने पनि शास्त्रमा उल्लेख छ। कुखुरा वा पंक्षी हत्या, माछा मासुको सेवन तथा मदिरा पिउनु वर्जित मानिन्छ। यसो गर्दा बुद्धि भ्रमित हुने, आर्थिक नोक्सानी हुने तथा क्रोध बढ्ने धार्मिक विश्वास छ।
गणेशजीलाई ‘विघ्नेश्वर’, ‘विनायक’, ‘गणाध्यक्ष’ आदि नामले पनि चिनिन्छ। ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान भएकाले उहाँलाई बुद्धि र ज्ञानका प्रतीकका रूपमा पूजिन्छ।
उहाँको पूजामा निम्न ११ मन्त्रहरू जप गर्दा चाँडै कृपा प्राप्त हुने जनविश्वास छः
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लम्बोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः
आजको दिन श्रद्धा, नियम र संयमका साथ गणेश भगवानको आराधना गरेमा जीवनमा आउने बिघ्नबाधा हट्ने तथा सफलता प्राप्त हुने विश्वास गरिन्छ।




.gif)





