काठमाडौँ । कार्तिक २, हिन्दू धर्मावलम्बीहरू आज कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइरहेका छन्। यमराजका दूतका रूपमा मानिने कागलाई बिहानै देखि पूजा आराधना गरी दहीभात लगायत मीठा परिकार खुवाउने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार, सूर्योदयकालमा त्रयोदशी पर्ने भएकाले आज आइतबार काग तिहार शास्त्र सम्मत रूपमा मनाउनुपर्ने निर्णय गरिएको हो। यमराजले लोकको खबर काग मार्फत थाहा पाउने विश्वासका आधारमा आज कागलाई विशेष सम्मान दिने गरिन्छ।
काकेन दधि भक्षितम् अर्थात् कागलाई दहीभात मनपर्ने धार्मिक भनाइलाई आधार मान्दै आजका दिन कागलाई दहीभात खुवाउने चलन छ। यसबाट यमराज समक्ष राम्रो सन्देश जाने र परिवारमा सुखशान्ति आउने विश्वास गरिन्छ।
त्यसैगरी, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा काग तिहारको विशेष पूजाआराधना गरिँदैछ। हनुमानढोकास्थित मन्दिरमा कागको ठूलो मूर्तिसमेत स्थापना गरिएको छ।
काग घर वरिपरि आएर कराएमा शुभ समाचार आउने संकेत मानिने सामाजिक विश्वास पनि यस पर्वसँग गाँसिएको छ। यसैबीच, यम दीपदानको परम्परा शनिबार साँझदेखि नै सुरु भइसकेको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार दीप दक्षिण फर्काएर बाल्नुपर्छ, जसबाट यमयातनाबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ।
तिथिको घटबढका कारण शनिबार बेलुकै देखि यमपञ्चक सुरु भइसकेको छ। शनिबारकै दिन धनतेरस पर्व पनि मनाइएको थियो। यस अवसरमा गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा रहेको छ, जसले लक्ष्मीलाई घरमा स्थिर राख्ने विश्वास गरिन्छ।




.gif)





