काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका–५ र ६ मा रहेका विभिन्न पसलहरूको छड्के अनुगमन गरी म्याद गुज्रिएका अखाद्य तथा पेय पदार्थहरू जफत गरी नष्ट गरिएको छ।
गाउँपालिकामा उपभोक्ताबाट आएका गुनासोहरूका आधारमा गाउँपालिकाले गाउँ प्रहरी र कर्मचारी सहितको टोली गठन गरी गोर्स्याङ, कालीमाटी, निग्लेनी, काव्रे, मझुवा, भमरा, कुवापानी लगायतका क्षेत्रका दुई होटल र २६ किराना पसल गरी जम्मा २८ वटा व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा म्याद गुज्रिएका, कुहिएका तथा बिग्रिएका झण्डै २५ हजार रुपैयाँ बराबरका खाद्य र पेय पदार्थ जफत गरी तत्काल नष्ट गरिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए।
गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ।




.gif)





