काठमाडौँ । असोज २८, नेपाल मर्चेण्ट बैंकर्स संघले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जारी प्रशासनिक अन्योलता र स्थगनको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल समाधानका लागि सरकार तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डमा आन्दोलनरत कर्मचारीहरूसँग सकारात्मक संवाद र सहमतिको माध्यमबाट समस्या समाधान खोज्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेको हो।
संघका अनुसार २०८२ साल भाद्र ३१ गते नेपाल सरकारले सेबोनका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी निर्देशन जारी गरेपछि उत्पन्न असमझदारीका कारण पछिल्ला तीन सातादेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। यसका कारण बोर्डमा नियमित प्रशासनिक तथा नियामक कामकाज प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको जनाइएको छ।
संघको विज्ञप्तिमा भनिएको छ, “बोर्डमा मर्चेण्ट बैंकर्सले बुझाउनु पर्ने विवरण तथा कागजातहरू पेश गर्न नसक्नुका साथै धितोपत्रको सार्वजनिक निष्काशन, स्वीकृति प्रक्रिया र अन्य नियामक कार्यहरू ठप्प हुनुले पूँजी बजारमै असर पारेको छ।”
संघले यस अवस्थाले पूँजी बजारको स्थायित्व, पारदर्शिता र लगानीकर्ता विश्वासमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्दै तत्काल समस्या समाधानमा सबै पक्षको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशको वर्तमान आर्थिक र राजनीतिक जटिलताबीच पूँजी बजार नियामक निकायमै अस्थिरता सिर्जना हुनु दुर्भाग्यपूर्ण हो। सम्बन्धित निकायले यथासमयमा पहल नगरेमा बजारमा थप असहजता र अनिश्चितता बढ्ने खतरा छ।”
संघले धितोपत्र बोर्ड मातहतका सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू तथा पूँजी बजारका अन्य सहभागीहरूको निरन्तर नियमन र सुपरिवेक्षणका साथै पूँजी बजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्नुपर्ने महत्त्वपूर्ण समयमा यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएको छ।
अन्त्यमा, संघले अन्तर्राष्ट्रिय धितोपत्र नियामक संघका सिद्धान्त स्मरण गराउँदै नियामक निकायहरूको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम रहनु अत्यावश्यक रहेको उल्लेख गरेको छ। संघले बोर्ड र कर्मचारीबीच सकारात्मक संवाद र सहमति मार्फत समाधान निकाल्न आग्रह गरेको छ ताकि पूँजी बजारको स्थायित्व र लगानीकर्ता विश्वास कायम रहन सकोस्।




.gif)





