कञ्चनपुर, २३ असोज । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर सुरक्षित भएको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । बाढीको त्रासमा रहेको कुतियाकवर तटबन्ध निर्माणपछि सुरक्षित बनेको भन्दै स्थानीयवासी खुसी भएका छन् ।
“बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए”, स्थानीय टेकबहादुर सुनारले भनेका छन् ।, “अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ अब बस्तीमा बाढी पस्ने डर छैन ।”
नदीको कटानले बस्ती नै जोखिममा परेपछि यहाँका स्थानीयवासी पलायन हुन थालेका थिए । अहिले दुवैै नदीमा पक्की तटबन्ध निर्माण भएपछि बाढी र कटानबाट बस्ती सुरक्षित बनेको सुनार बताएका छन् । गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि यहाँका स्थानीयले सुरक्षित महसुस गरेको उनको भनाइ छ ।
“पक्की तटबन्ध निर्माण भएपछि हामी ढुक्क छौँ, अब सरकारले जोगबुढा नदीमा पक्की पुल बनाइदिए राम्रो हुन्थ्यो”, स्थानीय मोतिराम सुनारले भनेका छन् , “अहिले भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भए पनि ट्याक्टर नआउँदा खेतीपातीमा समस्या भएको छ ।”
बस्तीमा दुईवटा सेफहाउस बनेका छन् । सेफहाउसले बाढीबाट मानिसको ज्यान जोगाए पनि अन्न, लत्ताकपडा, पशुचौपाया क्षति हुन्थ्यो । नदीमा पक्की तटबन्ध बनेपछि विगतजस्तो बाढी बस्ती पस्ने खतरा कम भएको स्थानीय सुक्कादेवी सुनार बताएका छन् ।
“विगतमा बाढीले हाम्रो घरको अन्न, लत्ताकपडा सबै नोक्सान गथ्र्यो”, उनले भएका छन् , “तटबन्ध बनेपछि हामी ढुक्क छौँ ।” कुतियाकवरमा महाकाली नदीको बाढीबाट बर्सेनि खेतीयोग्य जमिन कटान हुँदै आएको थियो ।
कटानका कारण बस्ती नै जोखिममा परेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महाकाली नदी र जोगबुढा नदीमा ८१६ मिटर पक्की तटबन्ध निर्माण गरेको हो । त्यसको कुल लागत रु पाँच करोड १६ लाख ६७ हजार रहेको थियो ।
“तटबन्ध निर्माण भएपछि स्थानीयवासीमा बाढीको त्रास हटेको छ”, आयोजनाका प्रमुख रञ्जनराज भट्टराईले भनेका छन् , “चालु आर्थिक वर्षमा पनि कुतियाकवरमा जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ ।” उनले स्थानीयको मागबमोजिम बस्ती संरक्षणका लागि अन्य संरचना निर्माण हुने बताएका छन् ।




.gif)





