images

२०८३ आश्विन २१ गते

images
images
images
  • पूर्वाधार
  • कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा...

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • म्याग्दी, २१ असोज । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ । 

    images
    images

    सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र भत्काएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेकका स्थानमा मङ्गलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिएका छन् ।  

    “मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने गरि मर्मत भएको छ,” उनले भने, “पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको छ ।”

    images
    images

    बाढीले कुनौटामा पैदलयात्रा गर्न नमिल्ने गरी २५० मिटर सडक र पोखरेबगरको पुलको पहुँचमार्ग बगाएको थियो । कुनौटामा चार वटा एक्साभेटर सहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरेबगरमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण भइरहेको छ ।  

    आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजना प्रमुख शर्माले बताएका छन् । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन इन्धन अभाव रहँदै आएको थियो । 

    राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको छ । नेपाली सेना, स्वयम्सेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । 

    सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिप्पर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताएका छन् । 

    “सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने । सो आयोजनामा यसपटकको विपद्ले हालसम्म ठूलो क्षति पु¥याएको छ । सडक पुनर्निर्माणका लागि रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण रहेको छ । सो नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताएका छन् ।

    मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय याम सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब परेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend