काठमाडौँ । असोज २७, नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार प्रतितोला २ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै सुनको मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
यसअघि असोज २३ गते प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो, जुन अघिल्लो रेकर्ड थियो। आइतबार भने सुन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी ९५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २२० रुपैयाँमा पुगेको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धिले नेपाली बजारमा प्रत्यक्ष असर पारेको हो। हाल अमेरिकी डलर बलियो बन्दै गएको कारण विश्वबजारमा सुनप्रति लगानीकर्ताको आकर्षण बढेको छ, जसको असर आन्तरिक बजारमा समेत देखिएको हो।
भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रको अनिश्चितता र विदेशी विनिमय दरको उतारचढावका कारण सुनलाई सुरक्षित लगानीका रूपमा हेरिने प्रवृत्ति थप बलियो बनेको जानकारहरूको विश्लेषण छ। तसर्थ, निकट भविष्यमा पनि सुनको मूल्य उच्च स्तरमै रहने सम्भावना रहेको उनीहरूको भनाइ छ।




.gif)





