काठमाडौँ । असोज २६, सेयर बजारमा सुधारको माग राख्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) परिसरमा लगानीकर्ताहरूले घेराउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ। आन्दोलित लगानीकर्ताले सेबोनको मुख्य गेटमा तालाबन्दी गर्दै बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमै घेरेर राखेका छन्।
लगानीकर्ताहरूले तत्काल ११ बुँदे माग कार्यान्वयन गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन्। माग पूरा नभएसम्म अध्यक्ष श्रेष्ठलाई कार्यालयबाट बाहिर नजान दिने चेतावनी दिइए पछि सेबोन परिसरमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरीले अध्यक्षलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रयास गरिरहेको स्रोतहरूले जनाएका छन्।
लगानीकर्ताहरूको प्रमुख मागमा आईपीओ तथा हकप्रद सेयर स्वीकृतिमा रोक, संस्थापक सेयरलाई साधारणमा रूपान्तरण गर्ने प्रक्रिया तत्काल रोक्नुपर्ने, गैर आवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश दिनुपर्ने, मार्जिन कारोबारलाई स्वीकृति दिने, तथा हालको सर्किट ब्रेकर प्रणाली परिवर्तन गर्नेलगायत रहेका छन्।
बोर्ड परिसरमा नाराबाजी र भीड बढे सँगै सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थितिलाई तैनाथ गरिएको छ। स्थिति थप जटिल नबनोस् भन्ने उद्देश्यले वार्ताको प्रयास पनि भइरहेको जनाइएको छ।




.gif)





