images

२०८३ आश्विन १९ गते

images
images
images

डुम्रे भन्सार नयाँ शहर आयोजनाका लागि आठ वर्षमा गर्‍यो रु ९५ करोड लगानी

डुम्रे भन्सार नयाँ शहर आयोजनाका लागि आठ वर्षमा गर्‍यो रु ९५ करोड लगानी

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं ।नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा ९५ करोड ८७ लाख लगानी गरेको हो । 

    images
    images

    कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताए । आव २०७२/७३ मा तीन करोड ७४ लाख विनियोजन भएकामा २ करोड ३६ लाख, आव २०७३/७४ मा १३ करोड २६ लाख विनियोजन भएकामा आठ करोड ८० लाख, आव २०७४/७५ मा २० करोड ६१ लाख विनियोजन भएकामा १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिए । 

    उनका अनुसार आव २०७५/७६ मा रु चार करोड ९१ लाख, आव २०७६/७७ मा १० करोड २९ लाख, आव २०७७/७८ मा १३ करोड ४९ लाख, आव २०७८/७९ मा रु १० करोड ८५ लाख, आव २०७९/८० मा रु १० करोड ४४ लाख र गत आवमा  १७ करोड ३७ लाख विनियोजन भएकामा  १५ करोड ४४ लाख खर्च भएको छ । कार्यालयमार्फत हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल तथा यातायातअन्तर्गत सडक कालोपत्र, ढल निर्माण, ग्राभेल र कच्ची सडक निर्माण भएको छ । यस कार्यमा ६३ करोड लगानी भएको छ । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जानकारी दिए । बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा २ करोड ९० लाख लगानी भएको छ । 

    images
    images

    सामाजिक पूर्वाधारतर्फ हरित उद्यान, किरियापुत्री भवन, ज्येष्ठ नागरिक भवन, सिँढी, मञ्च र शौचालय निर्माणमा भएको अधिकारीले बताए । सांस्कृतिक तथा पर्यटनतर्फ सिद्धगुफामा पूर्वाधार, तालपार्कको विस्तृत अध्ययन प्रतिवेदन र स्टोन पार्क निर्माणमा २ करोड लगानी भएको छ । कार्यालयले ३४.७८ किमी सडक ग्राभेल, १.२४ किमी ढलान, २०.३० किमी कालोपत्र, ४४.६२ किमी नाला निर्माण, तीनवटा सामुदायिक भवन, एउटा सरकारी कार्यालय भवन, एउटा खेलमैदान, दुईवटा मनोरञ्जन पार्क र एउटा खानेपानी योजना निर्माण गरेको जनाएको छ । 

    कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । सोका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको अधिकारीले जानकारी दिए । १० पुस २०७४ मा आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । १२ पुस २०७७ मा अन्तिम प्रतिवेदन बुझाइएको भन्दै बाटोको किल्ला तोक्ने कार्य सकिएको उनले बताए । ‘नगर विकास समितिबाट स्वीकृत भई जग्गा अधिग्रहण र जग्गाको कित्ता कायम गर्न बाँकी छ,’ अधिकारीले भने ।गत आवमा कार्यालयबाट बाह्रपिर्के हाट बजारको परिसर स्तरोन्नतिमा ८० प्रतिशत प्रगति हासिल भएको छ । पालुङटार स्मार्ट सिटीमा स्मार्ट डिजिटल जडान गर्नका लागि ७६ लाख ६५ हजार छ सय ४७ मा सम्झौता भएकामा सतप्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ सहर आयोजनाको अपूरो भवन निर्माण गर्न २ करोड १९ लाख ९९ हजारमा सम्झौता भएमा सतप्रतिशत प्रगति भएको छ ।

    नयाँ सहर आयोजनाका निमित्त प्रमुख अधिकारीले पालुङटार स्मार्ट सिटीमा शिवमन्दिर, खोप्लाङ, लुङ्गी, ज्योतिचौतारा, सडक स्तरोन्नतिका लागि १ करोड ७० लाख ३ हजार ६ सय चारमा सम्झौता भएकामा श्तप्रतिशत प्रगति भएको उल्लेख गरे । डुम्रे भन्सार नारेश्वरटार सडक स्तरोन्नतिका लागि ७१ लाख ७ हजार ३ सय चार रुपैयाँमा सम्झौता भएकामा ६० प्रतिशत भौतिक र ५७ दशमलव सात प्रतिशत वित्तीय प्रगति भएको छ । 

    बन्दीपुर–४ तल्लो डुम्रे चुनेढाड, खहरे, बिरुवा, आलेगाउँ हुँदै शिखरडाँडा जोड्ने कच्ची मोटरमार्ग र ढाप्रेबाट बन्दीपुर केबलकारको स्टेसनसम्म जोड्ने सडक स्तरोन्नतिमा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए ।आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि १० नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप वि.सं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साबिकको भानु गाविस–१, २, ३, ४ र साबिकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend