काठमाडौँ । असोज २३, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक हरियालीमै बन्द भएको छ। अघिल्ला दुई दिन घटेको सूचक बिहीबार २२.५९ अंकले बढ्दै २५८२.१८ विन्दुमा पुगेर बन्द भएको हो।
नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको अधिकतम एकल ग्राहक कर्जामा तोकिएको २५ करोडको सीमा हटाएपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो। यो निर्णयले लगानीकर्तालाई उत्साहित बनाउँदै बजार खुल्ने वित्तिकै ४ प्रतिशतले उकालो लागेर सर्किट ब्रेकरको सीमामा पुगेको थियो।
बजार सर्किट लागेपछि २० मिनेट स्थगित भएको थियो। स्थगनपछि खुलेको बजारले तीव्र उकालो यात्रालाई निरन्तरता दिन नसके पनि सामान्य अंकको वृद्धि सहित हरियालीमा दिन समाप्त गरेको छ।
तर कारोबार रकम भने घटेको देखिएको छ। अघिल्लो दिन (बुधबार) ५ अर्ब ७६ करोड बराबरको कारोबार भएकोमा बिहीबार ३१३ वटा स्टकमा ५६ हजार ३२१ पटक कारोबार हुँदै ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ।
बिहीबार सर्वाधिक वृद्धि विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा देखिएको छ, जुन ८.२१ प्रतिशतले बढेको हो। त्यसैगरी एशियन हाइड्रोपावर ५.५ प्रतिशत र एमबिएल इक्विटी फण्ड करिब ५ प्रतिशतले बढेका छन्।
विपरित रूपमा, थ्रिस्टा हाइड्रोपावरको शेयरमूल्य ९.०९ प्रतिशतले घटेर दिनको सर्वाधिक घट्ने कम्पनी बनेको छ।
सर्वाधिक कारोबार शिवम् सिमेन्ट्सको,कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स २७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा रहेको छ। त्यसपछि यूनियन हाइड्रोपावरको कारोबार २७ करोड रुपैयाँ नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सले करिब २१ करोडको कारोबार गरेको छ।
१२ उपसमूहमा हरियाली, व्यापारमा गिरावट,नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहमा १.६१ प्रतिशतको वृद्धि देखिएको छ, जुन सबैभन्दा बढी हो। बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा, र उत्पादन तथा प्रशोधन उपसमूहले पनि १ प्रतिशतभन्दा बढी वृद्धि गरेका छन्।
यता, व्यापार उपसमूहको परिसूचक भने १.४८ प्रतिशतले घटेको छ।




.gif)





