काठमाडौँ । असोज २३, बैंक तथा वित्तीय संस्थाहरू (बाफिया) का लागि सेयर लगानीमा गरिएको कानुनी सीमा हटाइएको छ। यसअघि एक आर्थिक वर्षमा बैंकले आफ्नो प्राथमिक पूँजीको अधिकतम २० प्रतिशतसम्म मात्र सेयर बिक्री गर्न सक्ने व्यवस्था थियो, जुन अब हटाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको संशोधित निर्देशिकामा यो व्यवस्था हटाइएको उल्लेख गरिएको छ।
त्यस्तै, अब बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाहरूको सेयर तथा डिबेञ्चरमा छ महिना भन्दा बढी अवधिको लागि लगानी गर्न पाउनेछन्। यसअघि यो अवधि कम्तीमा एक वर्ष तोकिएको थियो।
संशोधित व्यवस्था अनुसार, “सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा छ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ।”
साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन (छ महिना भन्दा कम) अवधिको लागि कुनै पनि किसिमको प्रवन्धमार्फत संगठित संस्थाको सेयरमा लगानी गर्न नपाइने स्पष्ट गरिएको छ।
यस्तै, धितोपत्र बजारमा अझै सूचीकृत नभएका संगठित संस्थाहरूको सेयर वा डिबेञ्चरमा गरिएको लगानीबारे पनि नयाँ व्यवस्था गरिएको छ। यदि तीन वर्षभित्र ती सेयर वा डिबेञ्चरहरू सूचीकृत भएनन् भने, सो लगानी बराबरको रकम सञ्चित मुनाफाबाट खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ।
त्यस्तो कोषमा रहेको रकम भने ती सेयर वा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाइने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकको यो कदमले बैंकहरूलाई लगानीमा थप लचिलो बनाउने र पूँजी बजारको दीर्घकालीन सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।




.gif)





