काठमाडौँ । असोज २२, पुँजी बजार सुधारका विषयमा शेयर बजारका लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलसँग विशेष भेटवार्ता गरेका छन्। भेटका क्रममा धितोपत्र बजारको वर्तमान अवस्था, चुनौतीहरू र सुधारका सम्भावनाहरूबारे विस्तृत छलफल भएको छ।
गभर्नर डा.पौडेलले भेटमा वर्तमान आर्थिक परिप्रेक्ष्यमा सबै पक्षहरू संवेदनशील र जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनले शेयर बजारमा राजनीतिक र सामाजिक सद्भावको प्रत्यक्ष प्रभाव पर्ने भएकाले सबै सरोकारवालाहरूले सकारात्मक गतिविधिलाई प्रवर्द्धन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।
लगानीकर्ताहरूका सुझावहरूः भेटका क्रममा लगानीकर्ताहरूले बजार सुधारका लागि ५ बुँदे सुझाव पनि समक्ष पेश गरेका छन्। ती सुझावहरू यस प्रकार छन्ः
शेयर धितो कर्जामा सहजीकरणः शेयर धितो कर्जाको मार्जिन ८०–२० कायम गरिनु पर्ने र व्यक्तिगत तथा संस्थागत लगानीकर्ता माथिको हालको २५ करोडको सीमा पूर्ण रूपमा हटाइनु पर्ने।
लघुवित्तको लाभांश वितरणः लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने लाभांशमा रहेको सीमा (क्याप) हटाइनु पर्ने।
ब्याज भुक्तानीमा राहतः लगानीकर्ताहरूलाई हालको असहज परिस्थितिमा बुझाउनु पर्ने ब्याज भुक्तानीको म्याद थप गरिनु पर्ने र सो अवधिमा कुनै जरिवाना नलाग्ने व्यवस्था गर्नुपर्ने।
संस्थागत लगानीकर्ताको सहभागिताः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरू, सामाजिक सुरक्षा कोष जस्ता संस्थागत लगानीकर्तालाई आफ्नो लगानीयोग्य कोषको एक निश्चित प्रतिशत धितोपत्र बजारमा अनिवार्य रूपमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने।
बजारको पहुँच र दायरा विस्तारः बैंक तथा वित्तीय संस्था र गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज पहुँच दिनुपर्ने र लगानी गर्न सहज नियमावली ल्याइनु पर्ने।
लगानीकर्ताहरूले बजारमा आत्मविश्वास फर्काउन राष्ट्र बैंकको नीतिगत तथा अभिभावकीय भूमिका निर्णायक हुने विश्वास व्यक्त गरेका छन्। गभर्नर पौडेलले पनि सकारात्मक सुधारका पक्षमा राष्ट्र बैंक सधैं तयार रहेको संकेत गरेका छन्।




.gif)





