काठमाडौ । सुनसरी, रामधुनी, गत शुक्रबार देखि लगातार परेको अविरल वर्षापछि सर्दुसेरा खोलामा आएको बाढीले रामधुनी नगरपालिका–८ झुम्कास्थित अर्ग्यानिक कृषि फार्ममा ठूलो क्षति पुर्याएको छ। बाढीले फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाउँदा करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताएका छन्।
मलेसियामा तीन वर्ष वैदेशिक रोजगार गरेर फर्किए पछि कार्कीले वि.सं. २०७४ मा झुम्कामा सुँगुर फार्म सञ्चालन गरेका थिए। करिब चार बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १६ जना कर्मचारी कार्यरत थिए।
कार्कीका अनुसार फार्ममा करिब ३०० भन्दा बढी सुँगुर थिए। तर शनिबार राति आएको आकस्मिक बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएको छ। हाल फार्ममा करिब ७० वटा सुँगुर मात्र बाँकी रहेका छन्।
भारी वर्षापछि फार्ममा एक्कासि बाढी पस्यो, कार्कीले भने, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हाम फाल्न थाले। हामी फार्मको पारीपट्टि थियौं, उनीहरूलाई बचाउन सकिएन। फार्मको ढोका र झाडीमा अल्झिएका केही सुँगुर मात्र बचे।
फार्ममा रहेका बच्चा सुँगुर मध्ये ४० भन्दा बढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएको उनले बताए।
सौभाग्यवश, खोलाबाट केही पर रहेको कुखुरा फार्म भने सुरक्षित रहेको छ। कार्कीका अनुसार उक्त फार्ममा हाल ३० हजारभन्दा बढी कुखुरा रहेका छन्।
स्थानीय प्रशासन र सरोकारवाला निकायबाट राहत तथा क्षतिपूर्ति सम्बन्धमा हालसम्म कुनै औपचारिक जानकारी नआएको सञ्चालक कार्कीको भनाइ छ।




.gif)





