काठमाडौँ । असोज १७, आश्विन शुक्ल एकादशी तथा शुक्रवार, हिन्दू धर्मावलम्बीका लागि अत्यन्तै महत्वपूर्ण दिन मानिन्छ। साथै, आज विश्व मुस्कान दिवस पनि विश्वभर मनाइँदैछ।
धार्मिक मान्यता अनुसार शुक्रबारका दिन सन्तोषी माता, वैभवलक्ष्मी, तथा अन्नपूर्णेश्वरी माताको विशेष पूजा आराधना गरिन्छ। दुर्गा भवानी र लक्ष्मी माताका विभिन्न अवतारहरूको समेत स्मरण गरी पूजा गर्ने परम्परा रहिआएको छ।
धर्मशास्त्र अनुसार लक्ष्मी माताको व्रत बस्दा आर्थिक समृद्धि प्राप्त हुने विश्वास छ। यो व्रत फलदायी मानिएकाले आज धेरै श्रद्धालुहरूले व्रत बसेका छन्। व्रत गर्नेहरूले विशेष गरी चना र सख्खरको फलाहार गर्नुपर्छ भने अमिलो खानेकुराबाट टाढा रहनु जरुरी मानिन्छ।
धार्मिक दृष्टिले आजको दिन तीन प्रकारका व्रत गरिन्छ सन्तोषी माता व्रत, वैभवलक्ष्मी व्रत, र शुक्र वारको विशेष व्रत। यिनको व्रत विधि भने फरक फरक हुन्छ।
श्रद्धालुहरूले सेतो कपडा लगाउने तथा खीर बनाएर गरिबलाई बाँड्ने परम्परालाई निरन्तरता दिइरहेका छन्। विश्वास गरिन्छ, यसरी गरिबलाई खीर दान गर्दा घरमा अन्न–भण्डार सधैं भरिनेछ।
ज्योतिषीय हिसाबले शुक्र ग्रह पीडित हुँदा सुधारका उपाय स्वरूप सेतो रंगको घोडा, रंगीन र रेशमी वस्त्र, सुगन्धित वस्तु, चिनी, चन्दन, कपुर तथा शुक्रसँग सम्बन्धित रत्न दान गर्नु शुभ मानिन्छ। साथै शुक्रको दशाबाट पीडित व्यक्तिहरूका लागि आजको व्रत लाभदायक हुने बताइन्छ।




.gif)





