काठमाडौँ । अबदेखि १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने भएको छ। अर्थ मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै यस्तो प्रावधानको कार्यान्वयन कडाइका साथ थालिएको जनाएको हो।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय अमेरिकी डलर वा सो बराबरको मात्र नगदमा राख्न पाइनेछ। सोभन्दा बढीको कारोबार भने बैंकिङ प्रणाली मार्फत गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।
रामेश्वर खनाल अर्थमन्त्रीको रूपमा नियुक्त भएयता वित्तीय अनुशासन तथा अनुत्पादक खर्च नियन्त्रणमा मन्त्रालयले विभिन्न कडाइका कदमहरू चालेको छ। त्यसै क्रममा नेपाल प्रवेश गर्ने नेपाली वा विदेशी नागरिकले ५ हजार डलरभन्दा बढी नगद ल्याएको खण्डमा भन्सारमा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्था पनि मन्त्रालयले स्मरण गराएको छ।
तर, ५ हजार डलर वा सोभन्दा कम विदेशी मुद्रा भने भन्सारमा घोषणा नगरी ल्याउन पाइनेछ। वैध स्रोत खुल्ने गरी राखिएको नगद विदेशी मुद्राको हकमा कुनै प्रतिबन्ध नरहने पनि मन्त्रालयको भनाइ छ। तर स्रोत नखुलेको रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अनुसन्धानको दायरामा पर्नेछ।
त्यस्तै, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय अनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई कानुनमा तोकिएका सेवा–सुविधामात्र प्रदान गर्न सम्बन्धित निकायहरूसँग पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
सवारी साधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मी फिर्ता गर्न असोज १० गते नै गृह तथा रक्षा मन्त्रालय सँग पत्राचार गरिएको मन्त्रालयको भनाइ छ।




.gif)





