काठमाडौँ । असोज १०, जेनजी आन्दोलनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसीबोका तथा च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको छ।
कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको जोखिमलाई देखाउँदै व्यवस्थापनमा समस्या उत्पन्न भएको जनाउँदै बिक्री नगर्ने बताएको हो। कम्पनीकी बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीका अनुसार, आन्दोलन अघि करिब दुई हजार खसीबोका र च्यांग्रा खरिदको प्रक्रिया सुरु भए पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार खरिद तथा बिक्री कार्य रोकिएको हो।
उनले केही उपभोक्ताले अनलाइन मार्फत गरेका बुकिङहरू रद्द गरी रकम फिर्ता गर्ने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिइन्।
खाद्य कम्पनीले हरेक दसैँमा पशु स्वास्थ्य परीक्षण, खरिद र ढुवानी लागत मूल्यांकन गरी सस्तो मूल्यमा खसीबोका उपलब्ध गराउँदै आएको थियो। यसले बजार मूल्यमा समेत सन्तुलन ल्याउने काम गर्दै आएको थियो। काठमाडौँ उपत्यकामा मात्र दसैँका समयमा करिब ५० हजार खसीबोका आवश्यक पर्ने माग हुने अनुमान छ।




.gif)





