काठमाडौँ । असोज ८, दसैँ नजिकिए सँगै बागलुङका उच्च लेकबाट भेडीगोठहरू बेसी झर्न थालेका छन्। वर्खायाममा करिब चार महिना लेकमा बसेका गोठाला बस्तुभाउ सहित चाडपर्व मनाउन बेसी झर्न थालेका हुन्।
जेठदेखि लेक उक्लिएका गोठालाहरू घटस्थापनाको दिन आसपास बेसी फर्किने गर्छन्। ढोरपाटन, निसीखोला, तमानखोला लगायत क्षेत्रका स्थानीय वर्षायाममा भेडाबाख्रा लिएर लेक पुग्ने र दसैँ तिर बेसी झर्ने परम्परा अहिले पनि यथावत् छ।
गोठालाहरू ढोरपाटन सिकार आरक्ष अन्तर्गतका टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङ, र निसीखोला–तमानखोलाका अन्य लेकहरूमा पुग्ने गर्छन्। यी क्षेत्रहरू समुद्री सतहदेखि ३ हजार देखि ४ हजार ५ सय मिटर उचाइमा पर्छन्।
लेकबाट झरेपछि बेसी क्षेत्रमा चहलपहल बढेको छ। स्थानीयले यसलाई पर्वको सुरुवात मानेका छन्। गोठालाहरू अब दशैँपछि हिउँदभरि परिवारसँग बस्नेछन्।
निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले २ सय बढी भेडा सहित ३ महिना २३ दिनपछि बेसी झरेको बताए। “हाम्रा बाउबाजेले यही पेसा गरे, हामी निरन्तरता दिँदै आएका छौं, तर छोराछोरीहरू विदेश जान थाले,” उनले भने, “लेकबेसी गर्नु हाम्रो संस्कृति हो, दसैँ मान्न झर्ने गर्छौं।”
दसैँ नजिकिँदै गर्दा गोठालाहरू भेडाबाख्रा बेच्न बुर्तिवाङ, बागलुङ, गलकोट, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवल, पोखरा जस्ता बजारतिर जाने तयारीमा छन्।
ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा चिसो बढ्न थालेपछि बेसी झरेको बताए। “असार ३ गते लेक उक्लिएको थिएँ, दसैँमा चाहिँ बेसी झर्ने गरेको वर्षौँ भयो,” उनले भने।
निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारिसकेको बताए। अझै लेकमा रहेका ५५ गाई ल्याउन आफन्तलाई पठाएको र असोज १३ गतेसम्म सबै बेसी झर्ने जानकारी दिए।
लेकबाट झर्ने क्रमसँगै तल्लो क्षेत्रहरूमा चहलपहल बढेको छ। गोठालाहरूको आगमनले बजारमा पनि रौनक छाएको छ। दसैँका लागि तयारीमा जुटेका किसान र व्यापारीहरूलाई समेत भेडा–बाख्राको आगमनले सहजता पुर्याएको छ।




.gif)





