images

२०८३ आश्विन २० गते

images
images
images

च्याङ्ग्रा बेच्दै मुस्ताङका वडा अध्यक्ष

च्याङ्ग्रा बेच्दै मुस्ताङका वडा अध्यक्ष

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • मुक्तिनाथ (मुस्ताङ) । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,फल्याकका वडा अध्यक्ष सुरेन्द्र गुरूङ ग्राहकलाई च्याङ्ग्रा बेच्न व्यस्त हुनुहुन्छ । पछिल्लो एक सातायता वडामा कार्यबाहकको जिम्मेबारी दिएर ३ सयभन्दा बढी च्याङ्ग्रा बिक्री गर्न हिँड्नुभएका गुरूङले जोमसोम–बेनी सडकखण्डको पदैलमार्ग हुँदै कास्कीसम्म पुगेर फर्किने योजना छ ।जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि तथा पशुपालन कर्ममा समेत सक्रिय गुरूङले हरेक वर्ष चाडपर्वमा च्याङ्ग्रा बिक्रीका लागि एक महिना जिल्ला बाहिर जानुहुन्छ । आर्थिक रुपमा विपन्न परिवारमा जन्मिनुभएका वडा अध्यक्ष गुरूङले गोठबाट सिधै उपभोक्तालाई बिक्री गर्ने गरी बजारमा आएर बिक्री गर्दा हुने कमाइलाई पशुपालन र घरायसी काममा खर्च गर्ने गरेको बताउनुभयो ।

    images
    images

    करिब तीन वर्ष हुर्काएका च्याङ्ग्रा खरिद गरेर लैजाने व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्दा मुस्ताङको च्याङ्ग्रा महँगो छ भन्ने सन्देश प्रवाह भएकोमा दुःख व्यक्त गर्नुभयो । वडा अध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘मैले जनताको सेवासँगै पशुपालनबाट आत्मनिभर बनेको छु, जनप्रतिनिधिको नियमित कमाइ भएन भने भ्रष्टाचारमा ध्यान जान सक्छ ।’’ वडा अध्यक्ष गुरूङले बजारमा च्याङ्ग्राको जथाभावी बिक्री गर्दा कृषकलाई समेत असर गरेको बताउँदै आगामी दिनमा मुस्ताङका कृषकलाई नै उपभोक्तासम्म पुगेर बिक्री गर्ने समेत अनुरोध गर्नुभएको छ । वडा अध्यक्ष गुरूङले वडामा जनताको दैनिक कामसँगै स्थानीय युवा क्लव, धार्मिक गतिविधिको समेत नेतृत्वमा बसेर काम गर्नुहुन्छ । वडा अध्यक्षमा निर्वाचित भएपछि पनि पशुपालनलाई निरन्तरता दिइरहेका गुरूङले आफ्नो कार्यकाल सकिएपछि झनै सक्रिय भएर लाग्ने बताउनुभयो ।

    वडा अध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘अहिले जनतालाई धेरै समय दिनुपर्छ, पशुपालनमा समुदायलाई पनि आर्कषित गरेको छु, मैले पनि कमाइरहेको छु ।’’ राजनीति गर्न सक्षम रहेकाले आफ्नो क्षेत्रमा रहेको सम्भावनामा समेत लगानी गरी सफल ब्यवसायी बन्न सकेमा जनतालाई समेत आर्कषित गर्न सकिने सन्देश वडा अध्यक्ष गुरूङले दिएको गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले बताउनुभयो ।प्रवक्ता गुरूङले गाउँपालिकाले २२ औं गाउँसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि र पशुपालनका क्षेत्रमा अनुदान सहितका आकर्षक कार्यक्रमहरू समेत सञ्चालन गरेको बताउनुभयो । कृषि र पशुपालन व्यवसाय प्रवद्धनसँगै आत्मनिर्भर बनाउन औजार विउ विजन, औषधी र प्राविधिक सहयोग गर्दै आएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

    images
    images

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका च्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रमा मुस्ताङका करिब ८० प्रतिशतभन्दा बढी च्याङ्ग्राका फार्म रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend