काठमाडौँ । लामो समयदेखि रोकिएको सहुलियत कर्जाको ब्याज अनुदानका लागि अर्थ मन्त्रालयले ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ। शनिबार मन्त्रालयले उक्त रकम राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई शोधभर्ना स्वरूप प्रदान गर्ने निर्णय गरेको हो।
ब्याज अनुदानको रकम समयमै उपलब्ध नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले सहुलियत ब्याजदरमा नयाँ कर्जा प्रवाह नगरेका थिए। यसले नागरिकहरूलाई महँगो ब्याज तिर्न बाध्य बनाएको थियो।
अर्थ मन्त्रालयद्वारा जारी पत्रअनुसार,आर्थिक वर्ष २०८२।८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधन गरी प्रथम त्रैमासिकमा कायम गरिई विगत सात वटा त्रैमासिकमा प्रदान गरिएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउने निर्णय अर्थमन्त्रीस्तरबाट भएको छ।
सरकारले आवश्यक रकम निकासा गरेसँगै सहुलियत कर्जाको प्रवाह फेरि सुरु हुने अपेक्षा गरिएको छ। यसले विशेषगरी उद्यमशील युवा, महिला, कृषि र पर्यटन क्षेत्रका ऋणीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।




.gif)





