काठमाडौँ । अर्थ मन्त्रालयका विभिन्न कार्यालयहरूमा आगलागीले आंशिक तथा पूर्णरूपमा क्षति पुगेको छ । मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ भने केही कार्यालयहरू पूर्णरूपमा नष्ट भएका छन्।
आंशिक क्षति भएका कार्यालयहरूमा कृष्णनगर, धुलिखेल, इलाम, सिन्धुली, विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी रहेका छन्। पूर्णरूपमा क्षति पुगेका आन्तरिक राजस्व कार्यालयहरूमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेका छन्। भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा नष्ट भएका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, पूर्णरूपमा क्षति भए तापनि भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामानको आयातका लागि भन्सार जाँचपासको काम भने सुरु गरिएको छ। आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलन गर्न नसकिए पनि अनलाइन मार्फत राजस्व संकलन भइरहेको छ।
मन्त्रालयको मुख्य भवन भने आगलागीबाट जोगिएको छ, तर करिब १५ वटा गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएका छन्।
अर्थ मन्त्रालयले क्षतिपूर्ति र पुनर्निर्माणका लागि आवश्यक पहल अघि बढाउने जनाएको छ।




.gif)





