images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • हिमाली भेगमा स्याउ टिप्ने सिजन सुरु,...

हिमाली भेगमा स्याउ टिप्ने सिजन सुरु, ‘चुमनुब्री’ र ‘मनास्लु’ स्याउको उत्पादनमा वृद्धिदर

हिमाली भेगमा स्याउ टिप्ने सिजन सुरु, ‘चुमनुब्री’ र ‘मनास्लु’ स्याउको उत्पादनमा वृद्धिदर

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • गोरखा, नाम्रुङ – हिमाली भेगमा स्याउ टिप्ने सिजन सुरु भएसँगै चुमनुब्री गाउँपालिकाको स्याउ बगैँचाहरूमा चहलपहल बढेको छ। गोरखा जिल्लाको नाम्रुङमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फार्ममा यस वर्ष गाला जातको स्याउ टिपिसकिएको सञ्चालक लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो।

    images
    images

    समुद्र सतहबाट २,६५० मिटर उचाइमा रहेको लामाको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलिएका छन्। “गाला स्याउ टिपिसकिएको छ, अब गोल्डेन टिप्ने तयारीमा छौं,” उहाँले भन्नुभयो, “एक महिनाभित्र फुजी जातको स्याउ पनि टिप्ने समय आउँछ।”

    यस वर्ष गाला स्याउको उत्पादन १० हजार किलोग्राम भएको छ। तीमध्ये दुई ट्रक स्याउ काठमाडौं पुरुयाइएको र भाटभटेनी सुपरमार्केट सँग खरिद सम्झौता भएको लामाले बताउनुभयो।

    images
    images

    चार वर्षअघि स्थापना गरिएको यस फार्ममा अहिले १२,५०० वटा स्याउका बोटहरू छन्। उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ ब्रान्डका रूपमा विकास गर्नुभएको छ।

    मनास्लुको फेदीमा ‘मनास्लु स्याउ’को उत्पादन बढ्दै

    चुमनुब्री–२, ल्होमा रहेको २,७०० मिटर उचाइको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टर पनि यतिबेला स्याउ टिपाइको चटारोमा छ। फार्मका सञ्चालक छिरिङ लामा भन्नुहुन्छ, “यस वर्ष गाला जातको स्याउ टिप्ने काम सुरु भइसकेको छ, असोजको पहिलो हप्तासम्म सबै जातका स्याउ टिप्ने योजना छ।”

    उहाँको बगैँचामा गाला, फुजी, गोल्डेन डेलिसियस लगायत जातका पाँच हजार बोट स्याउ फलिरहेका छन्। ‘मनास्लु स्याउ’ ब्रान्ड अन्तर्गत बजारमा ल्याइएको यो स्याउ उत्पादन तीन वर्षअघि सुरु भएको हो। पहिलो वर्ष ७०० किलोग्राम मात्र उत्पादन भएकोमा गत वर्ष आठ हजार किलोग्राम उत्पादन भएको थियो।

    यस वर्ष १० हजार किलोग्राम उत्पादन हुने अपेक्षा गरिएको छ। “२,८०० मिटर उचाइमा फलेको स्याउ सानो भए पनि अत्यन्तै रातो, स्वादिलो र आकर्षक हुन्छ,” लामाले भन्नुभयो।

    सरकारी सहकार्य र अध्ययन केन्द्रको प्रवर्द्धन
    गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रसँगको साझेदारीमा यी स्याउ बगैँचाहरू विकास गरिएको हो। चार वर्षअघि इटलीबाट आयात गरिएका गाला, फुजी, रेड र गोल्डेन डेलिसियस जातका उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएको थियो।

    मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्नुहुन्छ, “हामीले स्याउ उत्पादन मात्र होइन, स्याउखेती सिक्न चाहनेका लागि अध्ययन केन्द्र पनि बनाएका छौं।” उहाँका अनुसार यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरूलाई निःशुल्क आवास र खानाको सुविधा पनि प्रदान गरिन्छ।

    उहाँको भनाइमा गाउँपालिकाका अन्य स्थानहरूमा पनि स्याउखेतीका लागि राम्रो सम्भावना भएकाले अरू किसानलाई पनि व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित गराउने उद्देश्य रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend