काठमाडौँ । भदौ २६, सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले केही दिनमै हिंसात्मक रुप लिँदै देशभर ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् भने मंगलबार एकैदिन १९ जनाको मृत्युपछि प्रदर्शनकारीहरू थप आक्रोशित हुँदै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोड गरेका छन्।
सरकारी कार्यालयहरू, सुपर लगानीको निजी क्षेत्र र ठूला उद्योगहरू मुख्य निसाना बनेका छन्। प्रदर्शनको केन्द्र काठमाडौं रहे पनि देशैभरका सरकारी तथा निजी प्रतिष्ठानहरू प्रभावित भएका छन्।
भाटभटेनीका १२ स्टोर पूर्ण रूपमा नष्ट
प्रदर्शनकारीहरूले देशभर रहेका भाटभटेनी सुपर स्टोरका १२ वटा शाखामा आगो लगाएका छन् भने ८ वटामा आंशिक क्षति पुगेको छ। स्टोरहरूमा रहेको स्टक, संरचना र पूर्वाधार पूर्णरूपमा नष्ट भएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जनाएका छन्।
पौडेलका अनुसार, हरेक स्टोरमा ४०–५० करोडको लगानी गरिएकोले कुल क्षति अबौंमा पुगेको अनुमान गरिएको छ। भाटभटेनीले देशभर १० हजारभन्दा बढीलाई रोजगारी दिएको थियो।
चौधरी ग्रुप, सीजी इलेक्ट्रोनिक्समा आगजनी
नेपाली कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको सीजी इलेक्ट्रोनिक्स (सतुङल, काठमाडौँ) मा पूर्ण आगजनी भएको छ। साथै, सीजी मोटर्सका भैरहवा र थापाथलीस्थित शोरुममा पनि तोडफोड र लुटपाट भएको पुष्टि भएको छ।
सिम्रिक एयर, हुण्डाई, सिप्रदी, केएफसी लगायतमा क्षति
क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयर कार्यालय (तीनकुने), हुण्डाई शोरुम (थापाथली), सिप्रदी अटोपार्ट्स, तथा केएफसी लगायतका व्यवसायहरूमा पनि तोडफोड र आगजनी भएको छ। मारवाडी सेवा समिति र अन्य व्यापारिक भवनहरू पनि क्षतिग्रस्त छन्।
चन्द्रागिरी केबलकार, गोल्छा निवासमा क्षति
चन्द्र ढकालको आईएमई समूहद्वारा सञ्चालित चन्द्रागिरी र मौलाकाली केबलकारका तल्लो स्टेसनहरूमा पनि तोडफोड तथा आगजनी भएको छ। उद्योगी शेखर गोल्छाको घर पनि क्षति पुगेको निजी स्रोतले जनाएको छ।
व्यवसायीहरूले आन्दोलनले निम्त्याएको ध्वंसात्मक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अब देशमा शान्ति र स्थायित्व आवश्यक रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले व्यवसायीहरूबीच अब के गर्ने? भन्नेबारे गम्भीर छलफल सुरु भएको बताएका छन्। त्यस्तै, राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले भने, अब मुलुकमा शान्तिको वातावरण बनाएर जानुको विकल्प छैन।
निजी कर्पोरेट हाउसहरूमा भएको क्षतिको प्रत्यक्ष असर रोजगारी, कर राजस्व र आर्थिक स्थायित्वमा परेको देखिन्छ। हजारौँले रोजगारी गुमाउने सम्भावना सँगै अर्थतन्त्रमा गम्भीर झट्का लागेको विश्लेषण भइरहेको छ।




.gif)





