काठमाडौँ । झापा जिल्लाको भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनले बेमौसमी रायोको साग खेतीमार्फत मनग्य आम्दानी गरिरहेका छन्। मलेसियामा ११ वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका लिङ्देनले सन् २०७३ देखि आफ्नै नाममा लिङ्देन कृषि फार्म सञ्चालनमा ल्याएर व्यावसायिक साग खेती थालेका हुन्।
हाल लिङ्देनले एक बिघा क्षेत्रफलमा बेमौसमी रायोको साग लगाएका छन्। “दैनिक चारदेखि पाँच क्विन्टलसम्म साग उत्पादन हुन्छ”, लिङ्देन भन्छन्, “बजारमा प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुँदै आएको छ।”
उनको लक्ष्य यस सिजनमा साग बेचेरै झण्डै ३० लाख रुपैयाँ आम्दानी गर्ने रहेको छ। लगानी र खर्च कटाएर झण्डै १० लाख रुपैयाँ नाफा हुने अपेक्षा उनले गरेका छन्। “गत वर्ष १५ कट्ठा जमिनमा खेती गर्दा १८ लाख रुपैयाँ आम्दानी भएको थियो”, उनले सुनाए।
लिङ्देनको साग झापाको चन्द्रगढी, भद्रपुर, र बिर्तामोडस्थित कृषि थोक बजारसम्म पुग्ने गरेको छ। फार्ममा १० वटा माछा पोखरी समेत रहेका छन्, जसको डिलमा पनि साग उत्पादन हुँदै आएको छ। मलेसियामा रहँदा सागसब्जी तथा फूल खेतीमा काम गरेको अनुभवले नेपालमै व्यवसाय गर्न सहज भएको उनले बताए।
फार्ममा हाल १८ जनाले स्थायी तथा अस्थायी रोजगारी पाएका छन्। ती कामदारहरूले साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार पुर्याउने कार्यमा सहयोग गर्दै आएका छन्।
लिङ्देनले सुरुमा दुई कट्ठा जमिनबाट साग खेती थालेका थिए। उत्पादन र माग सन्तोषजनक देखिएपछि क्षेत्र विस्तार गर्दै हाल एक बिघामा पुर्याएका छन्। “कात्तिक–मङ्सिरमा अरूले पनि साग उत्पादन गर्दा भाउ घट्छ, त्यसैले सधैँ साउन–भदौ महिनामै बेमौसमी साग उत्पादन गर्छु”, उनले बताए।




.gif)





