काठमाडौँ । भदौ २५, जेनजी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ः०० बजेसम्मका लागि बन्द गरिएको छ। मंगलबार दिउँसो २ः३० बजेदेखि सुरु भएको उडान अवरुद्ध अवस्था बुधबार राति १ः०० बजेसम्म जारी रहँदा देशभरका हवाई उडान प्रभावित भएका छन्।
बुद्ध एयरले बुधबार एक सूचना जारी गर्दै विमानस्थल बन्दका कारण मध्यान्ह १२ः०० बजेसम्म उडान हुन नसक्ने जानकारी दिएको छ। कम्पनीले यात्रुहरूलाई पर्न गएको असुविधाका लागि क्षमायाचना समेत गरेको छ। प्रभावित यात्रुहरूलाई टिकट रकम फिर्ता गरिने जानकारी दिइएको छ।
देशको वर्तमान परिस्थितिका कारण आन्तरिक गन्तव्यहरू तर्फका अन्य वायुसेवा कम्पनीहरूको सेवा पनि प्रभावित भएको छ।
यसैबीच, वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थिति आए पनि आम नागरिकलाई सेवा दिन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा दिवङ्गतहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सङ्घले अर्को विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेका हेलिकप्टरहरूबाट कुनै पनि मन्त्री वा राजनीतिज्ञलाई सेवा नदिएको स्पष्ट पारेको छ।




.gif)





