काठमाडौँ । नेपाल, नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। कुल ४३ करोड थान नोट छपाइ तथा आपूर्तिको लागि यो बोलपत्र आह्वान गरिएको हो। बैंकले यस कार्यका लागि २०८१ फागुनमा तोकेको पूर्वयोग्यता (pre-qualification) प्रक्रिया पूरा गरेका ६ कम्पनीहरूमध्येबाट मात्रै बोलपत्रमा सहभागी हुन पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले सूचनामा उल्लेख गरे अनुसार, छनोटमा परेका कम्पनीहरूले एकै पटक आर्थिक र प्राविधिक प्रस्तावको शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र कागजात खरिद गर्न कम्पनीहरूले २० हजार नेपाली रुपैयाँ, वा वैकल्पिक रूपमा १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टर्लिङ तिर्नुपर्नेछ।
बोलपत्र पेश गर्ने अन्तिम मिति १० अक्टोबर २०२५ तोकिएको छ भने सोही दिन पेश गरिएका बोलपत्र खोलिने पनि सूचनामा उल्लेख गरिएको छ। बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्नेछ र प्रतिस्पर्धी कम्पनीहरूले ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ।
बोलपत्र प्रक्रियाका लागि अर्हता प्राप्त ६ कम्पनीः
चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन–चीन
डे ला रुई इन्टरनेसन लिमिटेड–बेलायत
जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी–जर्मनी
जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’–रुस
अवेर्थर फिडुसियर–फ्रान्स
पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् – पोल्याण्ड
यी मध्ये कुनै एक कम्पनी अन्ततः १ हजार रुपैयाँ दरका नोट छपाइका लागि छनोट हुने छ। राष्ट्र बैंकले नोटको डिजाइन, छपाई, ढुवानी र वितरण समेतको जिम्मेवारी सोही कम्पनीलाई दिनेछ।
यो प्रक्रिया सम्पन्न भए सँगै नेपालमा नयाँ नोट बजारमा आउने अपेक्षा गरिएको छ, जसले मौद्रिक प्रवाह व्यवस्थापनमा सहुलियत पुर्याउने विश्वास गरिएको छ।




.gif)





