मेलबर्न, अष्ट्रेलिया, जहाँ फोहोर साधारणतया बेकारको रूपमा हेरिन्छ, त्यही फोहोरबाट समाजसेवा र पर्यावरण संरक्षणको मिसन अघि बढाइरहेका छन् मेलबर्न निवासी नेपाली लेखक शिव न्यौपाने। अष्ट्रेलियामा बसोबास गर्ने शिव न्यौपाने पुनःप्रयोग गर्न मिल्ने फोहोर संकलन गरी त्यसबाट आम्दानी उठाउने मात्र होइन, त्यो आम्दानी समाज सेवामा खर्च गरिरहेका छन्।
‘करोडपति’ सहकर्मीबाट प्रेरणा, शिव न्यौपानेका अनुसार, करिब ६० वर्षकी उनी सँगै काम गर्ने एक सहकर्मीले एउटा महत्वपूर्ण मोड प्रदान गरिन्। एक दिन जुस पिएपछि बोतल फोहोर बिनमा फाल्न लाग्दा ती सहकर्मीले रोकेर भनिन्, “शिव, कृपया पर्खनुहोस्, बोतल मलाई दिनुहोस्, म बेच्नेछु।”
उक्त सहकर्मी तीनवटा घरकी मालिक थिइन्, तथापि १० सेन्टको बोतल पनि पुनःचक्रण केन्द्रमा लगेर बेच्ने प्रयासमा दृढ थिइन्। “मैले त्यही दिन महसुस गरें,फोहोर भनेको वास्तवमा नगद पनि हुन सक्छ,” न्यौपाने भन्छन्।
खाना र फोहोरबीचको सम्बन्ध, खाद्य शब्दकोश लेखकका रूपमा काम गर्ने न्यौपाने भन्छन्, “खाना र पेय पदार्थका प्याकेजिङबाट ठूलो मात्रामा प्लास्टिक फोहोर उत्पन्न हुन्छ। तर, त्यसको उचित व्यवस्थापन नहुँदा समुद्रका जीवहरूले प्लास्टिक निलिरहेका छन् र हाम्रो जलवायुमा विनाशकारी प्रभाव पारिरहेको छ।”
उनको अनुसार, प्लास्टिक जलाउँदा कार्बन डाइअक्साइड र विषालु ग्यास उत्सर्जनले न केवल वातावरण प्रदूषित हुन्छ, ओजोन तह क्षय भएर जलवायु परिवर्तनलाई समेत निम्त्याउँछ।
मेलबर्नमा सुरु भयो ‘फोहोर दान’ अभियान, यी यथार्थ बुझेर, शिव न्यौपानेले मेलबर्नको पुनर्चक्रण केन्द्रहरूमा पुनः प्रयोग गर्न मिल्ने बोतल, क्यान आदिको सङ्कलन गरी बेच्न थाले। खास कुरा के छ भने उनले त्यो आम्दानी व्यक्तिगत लाभका लागि होइन, विभिन्न संस्थाहरूलाई दान गर्न थाले।
“पुनर्चक्रण केन्द्रहरूमा बोतल बेचिसकेपछि मोबाइल एपमार्फत रकम सिधै कला ग्यालरी, क्लब, अस्पताल वा सामुदायिक ट्रस्टहरूलाई पठाउन सकिन्छ,” उनी बताउँछन्। यस प्रवृत्तिले धेरै अष्ट्रेलियालीहरूलाई जिम्मेवार पुनर्चक्रणको दिशातर्फ उन्मुख बनाएको छ।
नेपालमा पनि यस्तो प्रणाली किन आवश्यक छ?
शिव न्यौपानेको धारणा अनुसार, यदि यस्तै पुनर्चक्रण–आधारित दान प्रणाली नेपालमा पनि लागू गरियो भने लाखौं फोहोरका क्यान, बोतल र अन्य सामग्रीहरूबाट पर्याप्त राजस्व उठाउन सकिन्छ। “त्यो पैसा क्यान्सर फाउन्डेसन वा अन्य सार्वजनिक स्वास्थ्य अभियानमा लगानी गर्न सकिन्छ,” उनी सुझाउँछन्।
फोहोरलाई समस्या होइन, समाधानको माध्यमका रूपमा हेर्ने सोच मेलबर्नमा फैलँदै गएको छ। शिव न्यौपाने जस्ता व्यक्तिहरूको सक्रियता र सोच नेपाल जस्ता विकासशील मुलुकहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ।




.gif)





