काठमाडौं । नेपाल, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।८२ को विवरण अनुसार देशबाट शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो आर्थिक वर्षमा शैक्षिक प्रयोजनका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो। यसले शिक्षा खर्चमा वर्षेनी तीव्र वृद्धिलाई देखाउँछ।
राष्ट्र बैंकको तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।
यता, देशको खुद सेवा आय भने घाटामा छ। आर्थिक वर्ष २०८१।८२ मा नेपालले सेवा क्षेत्रमा ९० अर्ब ९४ करोड रुपैयाँको घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सो घाटा ५५ अर्ब ८६ करोड रुपैयाँ थियो। यो तथ्यले सेवा क्षेत्रले मुलुकको अर्थतन्त्रमा थप दबाव सृजना गरिरहेको संकेत गर्छ।
त्यसैगरी, सेवा खाता अन्तर्गत भ्रमण आयात (देशबाहिर खर्च भएको भ्रमण खर्च) ७.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ८२ अर्ब ३३ करोड रुपैयाँ थियो।
विश्लेषकहरूका अनुसार विदेशी शिक्षामा बढ्दो निर्भरता र भ्रमण खर्चको वृद्धिले मुलुकको विदेशी मुद्रा सञ्चिति र सेवा व्यापार सन्तुलनमा दीर्घकालीन असर पार्ने सम्भावना छ।




.gif)





