सिरहा । लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ ।प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने, ‘तर साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्षाले रोपाइँको गति बढायो र मसान्तसम्म आइपुग्दा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।’
उनका अनुसार खडेरीको समयमा अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर साउनको अन्त्यतिरको अनुकूल मौसम र किसानको सक्रियता रोपाइँलाई तीव्र बनाउन मुख्य कारण बन्यो । ‘साउन १५ गतेअघि रोपिएको धानको उत्पादन राम्रो हुने सम्भावना छ, तर त्यसपछि रोपिएको धानमा उत्पादनमा केही ह्रास आउने देखिन्छ,’ महासेठले भने ।उनले भदौको पहिलो सातासम्म थप दुई प्रतिशत रोपाइँ पनि सम्पन्न हुने विश्वास व्यक्त गरे । यो वर्ष जिल्लामा ९० प्रतिशत हाराहारीमा रोपाइँ पुग्ने अनुमान छ । जिल्लाको उत्तरी भेगमा भने केही क्षेत्रमा अत्यधिक खडेरीका कारण धान रोपोमै सुकेको देखिएको छ । यद्यपि दक्षिणी क्षेत्रमा यस्तो अवस्था नरहेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले जिल्लाका १७ स्थानीय तहसँग समन्वय गरेर रोपाइँको प्रगतिसम्बन्धी तथ्याङ्क सङ्कलन गरेको हो । सबै स्थानीय तहका कृषि शाखाको सहकार्य गरी आफूहरुले तथ्याङ्क तयार पार्ने गरेको उनको भनाइ छ ।जिल्लाको धानखेतीमा कमला नहरले पनि महत्वपूर्ण भूमिका खेलेको छ । खडेरीका समयमा भूमिगत पानीको स्रोत तथा कमला नहरमार्फत सिँचाइ भएको जमिनमा प्रारम्भिक रोपाइँ गर्न सम्भव भएको थियो । केन्द्रका अनुसार कमला नहरबाट करिब १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसान यसबाट प्रत्यक्ष लाभ लिएका छन् । सिरहामा कूल धान खेतीयोग्य ५४ हजार क्षेत्रफल जग्गा रहेको ज्ञानकेन्द्रले जनाएको छ ।
जिल्लामा धानबाली प्रमुख बाली हो । हरेक वर्ष करिब उस्तै परिमाणमा बर्खे धानखेती गरिँदै आएको छ । यस वर्षको प्रारम्भिक स्थितिमा देखिएको ढिलाइको बाबजुद साउन अन्त्यसम्म आइपुग्दा रोपाइँको गति उल्लेख्य बनेको छ । अब बाँकी रोपाइँ सम्पन्न भएसँगै आगामी हप्ता जिल्लामा रोपाइँ अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ ।




.gif)





