images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो...

पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ?

पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ?

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • फाइमोसीस भनेको पुरुषको लिङ्गको माथिल्लो भागको छाला (फोरस्किन) ग्लान्स (लिङ्गको टाउको) माथिबाट आंशिक वा पूर्ण रूपमा पछाडि तान्न नसक्ने अवस्था हो। जन्मँदा करिब ९० प्रतिशत  नवजात शिशुमा यो सामान्य (फिजियोलोजिकल) रूपमा पाइन्छ र प्रायः ५ वर्षभित्र आफैं खुल्ने गर्छ।तर उमेरपछि पनि नखुल्ने, दुखाइ वा संक्रमण हुने अवस्था रहिरहेमा यसलाई रोगजन्य (प्याथोलोजिकल) फाइमोसीस भनिन्छ।

    images
    images

    फाइमोसीस किन हुन्छ ? 

    – जन्मजात रूपमा लिङ्गको माथिल्लो भागको छाला साँघुरो हुनु,

    images
    images

    –  बारम्बार संक्रमण (बलानाइटिस वा बलानोपोस्टहाइटिस),

    –  नियमित रूपमा लिङ्ग सफा नगर्नु,

    –  मधुमेह,

    –  छालामा खत (जस्तै लाइकेन स्क्लेरोसस),

    –  र, जबर्जस्ती छाला तान्दा फाटेर घाउ हुनु ।

    फाइमोसीसको पनि  प्रकार छन् । 

     सामान्य फाइमोसीस

    जन्मिँदा सामान्य हुन्छ। अधिकांश बच्चामा फोरस्किन आंशिक रूपमा टाँसिएको हुन्छ। प्रायः ५–७ वर्षसम्म आफैं सुल्झिन्छ।

    पैथोलोजिकल  फाइमोसीस

    कुनै समस्या वा संक्रमणले कारणले हुन्छ। फोरस्किन पछाडि तान्दा दुखाइ, रातोपन वा पिसाबमा समस्या देखिन्छ । यसको लागि उपचार आवश्यक पर्छ ।

    रिवर्सिबल वा अस्थायी फाइमोसीस

    केही अवस्थामा सुनिने वा संक्रमणले अस्थायी रूपमा फोरस्किन तान्न नसकिने हुन्छ। संक्रमण वा समस्या उपचार भएपछि पुनः सामान्य हुन्छ ।

    यौन जीवनमा प्रभाव 

    फाइमोसीसको प्रकार अनुसार यौन क्रियाकलापको सहभागितामा स्पष्ट भिन्नता देखिन्छ। फोरस्किन हल्का संकुचन भएका व्यक्तिहरूले सामान्यतया विस्तारै  र सावधानीपूर्वक यौन सम्भोग गर्न सक्छन्। तर, फोरस्किन मध्यम संकुचन भएका व्यक्तिहरूलाई सम्भोगको क्रममा दुखाइ महसुस हुन सक्छ । फोरस्किन च्यातिने जोखिम रहन्छ र कहिलेकाहीँ यौन क्रियाकलापका क्रममा शिघ्र स्खलन हुने समस्या पनि देखिन सक्छ।

    फोरस्किनको गम्भीर संकुचन भएको अवस्थामा भने यौन सम्भोग गर्न निकै कठिन वा लगभग असम्भव हुन्छ, किनभने पुरुषको लिङ्ग महिलाको यौनाङ्गमा प्रवेशनै गर्न नसक्ने अवस्था देखापर्छ, जसले यौन जीवनमा गम्भीर प्रभाव पार्छ। यसरी, फाइमोसीसको गम्भीरता अनुसार यौन क्रियाकलापमा सहभागी हुन सक्ने क्षमतामा फरक आउँछ र उपचारको आवश्यकतामा पनि फरक पर्छ।

    प्रजननको सम्भावना

    हल्का फाइमोसीस भएका व्यक्तिहरूमा प्रजनन क्षमता सामान्य रूपमा राम्रो रहन्छ र कुनै ठूलो समस्या हुँदैन। तर गम्भीर फाइमोसीसको अवस्थामा वीर्य (सीमन) सबै बाहिर ननिस्केर लिङ्गको फोरस्किन भित्रै ‘जम्ने’ सम्भावना हुन्छ, जसले गर्भधारणको सम्भावना कम हुन सक्छ र स्वत: प्रजननमा असर पार्न सक्छ।यस्ता अवस्थामा उचित उपचार जस्तै सर्कम्सिजन वा प्रिप्युटियोप्लास्टी गराएपछि प्रजनन क्षमता पुनः सामान्य अवस्थामा फर्कने सम्भावना उच्च हुन्छ र यौन स्वास्थ्यमा सुधार आउँछ ।तसर्थ गम्भीर फाइमोसीस भएका व्यक्तिले समयमै उपचार गराउनु आवश्यक हुन्छ ताकि प्रजनन र यौन क्रियाकलापमा कुनै बाधा नआओस्।

    मूत्रत्यागको तरिका

    फाइमोसीसका प्रकार अनुसार मूत्र (पिसाब) त्यागको तरिकामा पनि फरक देखिन्छ। हल्का फाइमोसीस भएका व्यक्तिहरूमा मूत्रत्याग सामान्य रूपमा हुन्छ, जसमा कुनै बाधा वा समस्या हुँदैन।मध्यम फाइमोसीसको अवस्थामा पिसाबको धार पातलो हुन सक्छ र कहिलेकाहीँ फोरस्किन ‘बलुन फुलेझैँ’ फुलेको देखिन्छ, जसले मूत्रत्यागमा असुविधा उत्पन्न गर्छ।गम्भीर फाइमोसीस भएका व्यक्तिहरूमा पिसाबको धार पातलो हुन सक्छ, साथै पिसाब प्रवाह पूर्ण रूपमा रोकिन सक्ने समस्या देखिन्छ, जसले संक्रमणको जोखिम पनि बढाउँछ। यसकारण गम्भीर फाइमोसीसको अवस्थामा समयमै उचित उपचार आवश्यक हुन्छ ताकि मूत्रत्यागमा समस्या नआओस् र संक्रमणबाट बच्न सकियोस्।

    फाइमोसिसलाई यौन शिक्षामा समावेश नहुँदा समस्या

    नेपालको सन्दर्भमा फाइमोसिसलाई विद्यालयीय पाठ्यक्रमको यौन शिक्षामा व्यापक रूपमा समावेश नगर्नुको मुख्य कारणहरूमा- सांस्कृतिक संकोच, धार्मिक संवेदनशीलता, र यौन स्वास्थ्यलाई विद्यालय तहमा प्राथमिकता नदिनु हो ।धेरैजसो नेपाली समुदायमा यौनसम्बन्धी विषयवस्तुलाई खुल्ला रूपमा छलफल गर्न अप्ठ्यारो मानिन्छ, जसले गर्दा शिक्षकहरूको तालिम पनि कम रहन्छ र यौन शिक्षा प्रभावकारी रूपमा लागू हुन सक्दैन। यसकारण आवश्यक यौन शिक्षाबाट बञ्चित भएपछि विद्यार्थीहरूलाई आफ्नो शारीरिक परिवर्तन, यौन स्वास्थ्य र सम्बन्धित जोखिमहरूबारे समयमै जानकारी प्राप्त हुँदैन।

    फलस्वरूप, यौनसम्बन्धी समस्याहरू जस्तै यौन संक्रमण, अनियन्त्रित यौन व्यवहार, र मानसिक तनाव जस्ता जटिलताहरू समयमै पहिचान र उपचार हुन सक्दैनन्। यसले यौन सम्बन्धमा अनावश्यक दुखाइ र मानसिक तनाव बढाउन सक्ने सम्भावना बढाउँछ, जसले दीर्घकालीन स्वास्थ्य र सामाजिक प्रभावहरू निम्त्याउन सक्छ। नेपालमा यौन शिक्षालाई संवेदनशील तरिकाले समावेश गर्ने आवश्यकतालाई ध्यानमा राख्दै यसको सुधार र विस्तार गर्नु अत्यन्त महत्वपूर्ण छ।

    कसरी हुन्छ उपचार ?

    फाइमोसिसको प्रारम्भिक अवस्थामा स्टेरोइड मलम लगाएर र नियमित रूपमा फोरस्किनलाई पछाडि तान्ने अभ्यास गरेर सुधार ल्याउन सकिन्छ। तर, बारम्बार समस्या हुने वा गम्भीर अवस्थामा शल्यक्रिया नै अन्तिम विकल्प हुन्छ।शल्यक्रिया अन्तर्गतका विकल्पहरूमा सर्कम्सिजन (फोरस्किन पूर्ण रूपमा काटेर फाल्ने), प्रेप्युटियोप्लास्टी (छाला फराकिलो बनाउने) र आपतकालीन अवस्थामा डोर्सल स्लिट (फोरस्किन आंशिक रूपमा चिर्ने) पर्छन्।

     फोरस्किन पूर्ण रूपमा काटेर फाल्दा के हुन्छ ?

    पूर्ण रूपमा काटेर फाल्नु अर्थात  सर्कम्सिजनले बारम्बार हुने संक्रमणलाई रोक्न महत्वपूर्ण भूमिका खेल्छ। किनभने फाइमोसीस हुँदा प्रिप्यूस (लिङ्गको टुप्पोको छाला) साँघुरो हुन्छ, जसले गर्दा ब्याक्टेरियल र फंगल संक्रमण हुन सजिलो हुन्छ। त्यसैले सर्कम्सिजनले त्यो बाधा हटाएर संक्रमणको जोखिम कम गर्छ।पिसाबको प्रवाहको कुरा गर्दा, फाइमोसीस भएका व्यक्तिमा फोरस्किनको संकुचनले पिसाब लिङ्गबाट बाहिर निस्कनमा अवरोध पुर्याउन सक्छ, त्यसकारण सर्कम्सिजनले पिसाब प्रवाहलाई सहज बनाउने काम गर्छ। यसले मूत्रमार्गमा हुने जलन र संक्रमणबाट पनि बचाउँछ।

    फाइमोसीसले लिङ्ग सफा गर्न गाह्रो हुने हुँदा, त्यहाँ ‘स्मेग्मा’ अर्थात् फोहोर जम्मा हुन सक्छ जसले गन्ध र संक्रमण बढाउँछ। सर्कम्सिजन पछि स्मेग्मा हट्ने र लिङ्ग सफा राख्न सहज हुन्छ।यौन असुविधाको दृष्टिले पनि, सर्कमसिजनले फाइमोसीस भएका व्यक्तिमा संकुचन र दुखाइ कम हुन सक्छ जसले यौन क्रियाकलापमा सहजता ल्याउँछ।

    सर्कम्सिजनको जोखिम

    फाइमोसीस भएका व्यक्तिमा सर्कम्सिजन गर्दा लिङ्गको छालामा स्कार (दाग) हुने, शल्यक्रिया पश्चात लिङ्ग निलो रङ्ग भई सुन्निने र रक्तस्रावको सम्भावना बढी हुन्छ ।  किनभने लिङ्गको फोरस्किन पहिले नै संकुचित भएकाले शल्यक्रियामा असर पार्ने जटिलता बढाउन सक्छ। यद्यपि, फाइमोसीस नभएका व्यक्तिले सर्कम्सिजन गर्दा सामान्य शल्यक्रियासँग सम्बन्धित जोखिम मात्रै देखिन्छ।सर्कम्सिजन गरेपछि फोरस्किनको प्राकृतिक ‘ग्लाइडिङ एक्सन’ मा कमी आउन सक्छ, जसले लिङ्गको सतहमा सुख्खा घर्षण बढाउन सक्छ। यो कमीले यौन क्रियाकलापमा असुविधा हुन सक्छ, तर ल्युब्रिकेन्टको प्रयोगले यस समस्या कम गर्न सहयोग गर्छ ।

    फाइमोसिसको शल्यक्रिया गरेपछि प्रारम्भिक केही हप्तासम्म लिङ्गको ग्लान्स प्रत्यक्ष हावा, जस्तोसुकै कपडाको घर्षण र छुवाइसँग सम्पर्कमा आएर अत्यधिक संवेदनशील हुन सक्छ, जसले चस्स भई अत्यधिक दुखाई हुने, चिलाउने वा असहज महसुस गराउन सक्छ ।साथै, सतही स्नायुमा असर पर्नाले अस्थायी रूपमा झन्झनी वा सुन्निने अनुभूति हुन सक्छ। दीर्घकालमा, खुला रहँदा ग्लान्सको छालामा हल्का केराटिनाइजेसन (बाहिरी वातारणको प्रभावले हल्का सुक्खा र कडा हुनु) भएर हल्का छुवाइको संवेदनामा कमी आउन सक्छ र फोरस्किनमा रहेका विशेष स्पर्श रिसेप्टरहरू हटाइने भएकाले ती संवेदनाहरू स्थायी रूपमा हराउन सक्छन्।यद्यपि, अधिकांश अवस्थामा पूर्ण निको भएपछि यौन आनन्दमा खासै कमी हुँदैन र पहिले दुखाइ हुने अवस्थाहरूमा सुधार भई सन्तुष्टि अझ बढ्न सक्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend