काठमाडौंः शुक्रबार देखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मोहर’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै दर्शकलाई तान्न सफल भएको छ। शुक्रबार औसत सुरुवात गरेको भए पनि शनिबार देखि चलचित्रले उल्लेखनीय प्रगति गरेको छ। विशेषगरी शनिबार मध्यान्ह पछि देशभरका हलहरूमा दर्शकको उल्लेखनीय भिड देखिएको छ।
काठमाडौंका साथै मोफसलका शहरहरू–नेपालगञ्ज, पोखरा, बुटवल र चितवनमा पनि ‘मोहर’ ले राम्रो व्यापार गरिरहेको छ। नेपालगञ्जमा त हलहरूले हिन्दी चलचित्रका शोज हटाएर ‘मोहर’ का शोज थपेका छन्।
शनिबार चलचित्रका निर्देशक ओम प्रतिक, अभिनेता पल शाह, अभिनेत्री बेनिशा हमाल र नीति शाह काठमाडौंका विभिन्न हलमा पुगेका थिए। अष्टनारायण हलमा भिडलाई सम्बोधन गर्दै अभिनेता पल शाहले दर्शकलाई धन्यवाद ज्ञापन गरेका थिए।
निर्माण पक्षका अनुसार आइतबार पनि चलचित्रले राम्रो व्यापार गरेको छ। काठमाडौं सहित मोफसलका हलमा आइतबारको अकुपेन्सी उच्च देखिएको थियो। वितरक करण श्रेष्ठका अनुसार ‘मोहर’ ले पछिल्ला केही महिनायता देखिएको नेपाली फिल्मको व्यापारिक खडेरी चिर्न सफल भएको छ।
फिल्म मेकर्स प्रालिको व्यानरमा बनेको यस चलचित्रमा चुम्बनजंग शाहीले लगानी गरेका हुन्। चलचित्रको सकारात्मक वर्ड अफ माउथले आगामी दिनहरूमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।




.gif)





