काठमाडौँ, २५ साउन — राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली मौलिक संस्कृति जगेर्ना गर्दै गाईजात्राजस्ता परम्परागत पर्वलाई भावी पुस्तासम्म जीवन्त राख्न सबैको दायित्व रहेको बताएकी छन्।
नेवार समुदायले विशेष रूपमा मनाउने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै उपाध्यक्ष घिमिरेले पर्वका मौलिकता संरक्षणमा जोड दिएकी हुन्।
भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म मनाइने गाईजात्रा शोकलाई हाँसोमा रूपान्तरण गर्दै सामाजिक व्यंग्य प्रस्तुत गर्ने पर्वका रूपमा चिनिन्छ। ऐतिहासिक रूपमा राजा प्रताप मल्लले आफ्नी रानीलाई सान्त्वना दिन जनतालाई आफ्ना दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न प्रेरित गरेको विश्वास गरिन्छ।
उपाध्यक्ष घिमिरेले गाईजात्राका प्रहसनहरू समाजमा व्याप्त विकृति र विसंगतिप्रति चेतना फैलाउने माध्यम भएको बताउँदै यस्ता प्रहसनले मुलुकको सार्वभौमसत्ता, अखण्डता, जातीय तथा लैङ्गिक समानता र व्यक्तिगत प्रतिष्ठामा आँच नपुर्याउने गरी प्रस्तुत हुनुपर्नेमा जोड दिइन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै गाईजात्राले धार्मिक सहिष्णुता बढाउने र सकारात्मक सोच विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।




.gif)





