यार्सागुम्बा, जसलाई ‘हिमाली सुन’ पनि भनिन्छ, नेपालको उच्च हिमाली क्षेत्रमा पाइने अत्यन्त महत्त्वपूर्ण औषधिजन्य वनस्पति हो । यसको औषधीय गुणका कारण चीनलगायत अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहन्थ्यो । तर, यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको कारोबारमा अहिले भने समस्या आउन थालेको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण कारोबार नै ठप्प हुन पुगेको हो । यार्सागुम्बाको किनबेचै नहुँदा सङ्कलन गर्नेस्थानीयदेखि व्यवसायीहरूसम्म मारमा परेका हुन् । मुगुमा मात्रै सङ्कलनकर्ता र व्यापारीहरूबिच कारोबार नहुँदा करिब दुई क्विन्टल यार्सागुम्बा थन्किएको बताउँछन् स्थानीय व्यापारी रामभक्त उपाध्याय ।
तथ्याङ्क अनुसार यार्सागुबाको कारोवार गत वर्षहरू भन्दा पछिल्ला वर्षहरूको घट्दो अवस्थामा छ । अघिल्ला वर्षहरूमा प्रतिगोटा यार्सागुम्बाको पाँच सयदेखि एक हजार रुपैयाँ तथा प्रति किलोको १७ लाखदेखि १८ लाखसम्म कारोबार हुने गरेको थियो । तर यसवर्ष कारोबार घट्दा स्थानीयको दैनिक जीवनयापनमा समस्या भएको स्थानीय टारी लामाले बताए ।आर्थिक वर्ष २०८०/०८१ मा मुगुबाट ७९.२०७ किलो निर्यात हुँदा प्रति किलो ३१ हजार रुपैयाँको दरले २४ लाख ५५ हजार चार सय १७ रुपैयाँ राजश्व सङ्कलन भएको थियो । तर आर्थिक वर्ष २०८१/०८२मा २६.२ किलो मात्रै निर्यात हुँदा ८ लाख १२ हजार २ सय रुपैयाँ राजश्व सङ्कलन भएको देखिन्छ । अहिले भने कारोबार नै हुन सकेको छैन ।
मुगुका विभिन्न स्थानमा पाइने यार्सागुम्बा दुई क्विन्टल भन्दा बढी सङ्कलन हुने गर्छ । तर यसवर्ष मूल्य कम हुँदा कारोबार पनि घटेको मुगमकामारोङ्ख गाउँपालिका २ नम्बरका वडा अध्यक्ष च्यावा लामाले बताए ।अवैध चोरी निकासी, परिपक्व उमेर नहुँदै सङ्कलन, जनचेतनाको कमी, बन क्षेत्रमा आगलागी, जलवायु परिवर्तन जस्ताकारण पनि यार्सागुम्बा उत्पादनका कमी आउन थालेको छ । तर संरक्षण र जनचेतनाका कार्यक्रमको तयारी भइरहेको डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रकाश गिरी बताउँछन् ।
नेपालका हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन र बिक्रीले वर्षौँसम्म स्थानीय समुदायको मुख्य नगद आयस्रोत बन्दै आएको छ । यो निर्यातबाट नेपालले वार्षिक अर्बौँ रुपैयाँको विदेशी मुद्रा आर्जन गर्ने गरेको भए पनि हाल विश्व बजारमा यसको मूल्य तीव्र रूपमा घट्दा बिक्री नै नहुने समस्या आएको व्यापारीहरूले बताइरहेका छन् । यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको अर्थतन्त्रमा परेको छ—जहाँ नगद आम्दानीको अभावले रोजगारी, उपभोग र स्थानीय बजार गतिविधिमा मन्दी ल्याएको हो ।




.gif)





