काठमाडौं, साउन २३। फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नेपाली फिल्महरू– ‘मोहर’ र ‘सिटामोल’–देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएका छन्। ओम प्रतिक निर्देशित ‘मोहर’ र राज बहादुर साने निर्देशित ‘सिटामोल’ दुबैलाई सिनेमा हलहरूले उत्साहजनक शो उपलब्ध गराएका छन् भने दुबैको अग्रीम बुकिङ पनि सकारात्मक देखिएको छ।
फेस्टिभ विकेण्डलाई लक्षित गर्दै व्यापक प्रचारप्रसार सँगै प्रदर्शनमा आएका यी फिल्महरूले दर्शक तान्न सक्ने सम्भावना प्रबल देखिएको छ। साउन २५ गते परेको जनै पूर्णिमा तथा रक्षा बन्धन र साउन २६ गतेको गाईजात्रा बिदाले पनि दर्शकको संख्यामा उल्लेखनीय वृद्धि गराउने अपेक्षा गरिएको छ।
विशेषगरी, शुक्रवार देखि आइतवार सम्मको प्रदर्शनले फिल्मको प्रारम्भिक सफलता निर्धारण गर्न सक्छ। त्यसपछि माउथ अफ वर्ड (Word of Mouth) अर्थात दर्शकको प्रतिक्रिया नै फिल्मको भविष्य निर्धारण गर्ने प्रमुख आधार हुनेछ।
‘मोहर’स् देउकी प्रथामा आधारित कथा
‘मोहर’ मा अभिनेता पल शाह मुख्य भूमिकामा छन्, जसलाई बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतले साथ दिएका छन्। फिल्मले पश्चिम नेपालको देउकी प्रथालाई मुख्य कथावस्तु बनाएको छ। निर्देशक ओम प्रतिकले लामो अध्ययन पछि यो विषयवस्तुमा फिल्म बनाउने निर्णय गरेका हुन्। फिल्मका पोस्टर, टीजर, ट्रेलर तथा गीतहरू दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन्।
‘सिटामोल’ जनयुद्धपछिको यथार्थ र जीवनशैली
‘सिटामोल’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छन्। फिल्मले जनयुद्धमा होमिएका व्यक्तिहरूको यथार्थ जीवन, पश्चिम नेपालका पहाडी भूभागको जनजीवन, गरीबी, अभाव आदिलाई समेटेको छ। फिल्मका संवाद, टीजर र गीतहरूलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
‘सिटामोल’ मा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यही फिल्मबाट डेब्यु गरेका हुन्।
फिल्म ‘मोहर’ फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बन जंग शाही द्वारा निर्मित हो भने ‘सिटामोल’ तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्मसको सहकार्यमा निर्माण गरिएको हो। सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’ मा भुगोल कुमार कार्की, विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता छन्।
यी दुई फिल्मको प्रतिस्पर्धाले नेपाली बक्स अफिसमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ। अब हेरिन बाँकी छ — कुन फिल्म दर्शकको मन जितेर व्यापारिक सफलता हासिल गर्छ।




.gif)





