हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोलि मंगलबार (२० साउन) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले प्रदेश प्रमुख कार्यालयबाट उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।नेपाली कांग्रेसका बहादुर सिंहले राजीनामा दिएपछि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व कांग्रेसबाटै संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गर्नेछन । १४ साउनमा भएको संसदीय दलको निर्वाचनमा बहादुरलाई हराएर बानियाँ दलको नेता चयन भएका थिए । ९ साउनमा आफ्नै सांसदले हालेको अविश्वासको प्रस्तावको मतविभाजमा पनि अल्पमतमा पर्दै बहादुरले दल नेताको हैसियत गुमाएका थिए ।
उनी निकट सांसद मिनकृष्ण महर्जनकाअनुसार बानियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्ने जानकारी दिए । बागमतीमा एकवर्षअघि अर्थात ९ साउन २०८१ मा सरकार गठन हुँदा एमाले र कांग्रेसबीच सरकारको नेतृत्व २०–२० महिना गर्ने सहमति थियो ।




.gif)





