काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिस) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायतले प्रधानमन्त्रीलाई विदाई गरे।
विदाई कार्यक्रममा मुख्य सचिव, सेनाका प्रधानसेनापति, सुरक्षा निकाय प्रमुखहरू लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएका हुन्। सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) ‘अवाजा’ सहरमा हुनेछ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले एलएलडिसी समूहको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन्। साथै, उनले उच्चस्तरीय गोलमेचको सहअध्यक्षता तथा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सहभागिता रहनेछ।
यस सम्मेलनमा ती देशहरूले सामना गरिरहेका पारवहन समस्या, अन्तरराष्ट्रिय व्यापारमा पहुँचको अभाव, पूर्वाधारको कमजोरी र उच्च लेनदेन लागतबारे छलफल हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन भूपरिवेष्ठित राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल रहेको छ जसमा उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, सचिव अमृत राई लगायत अधिकारी, चिकित्सक, सञ्चारकर्मी र सुरक्षाकर्मी समावेश छन्। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्कने कार्यक्रम छ।




.gif)





