वीरगन्ज । २०७९ साल भदौ २२ गते वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना हुँदै गर्दा धेरैले नामको मात्र विश्वविद्यालय भन्न बाँकी राखेनन् । तर गरे के हुने रहेनछ र ? तीन वर्ष पुग्न डेड महिना अझै बाँकी छँदा, भौतिक पूर्वाधारको अभाव सहेर पनि मधेश विश्वविद्यालयले धमाधम पढाइका नयाँ–नयाँ संकायहरु थपिरहेको भेटिएको हो ।विश्वविद्यालय पाउन वीरगन्जले उच्च पदस्थ र निकायसँग ३० वर्ष अगाडीदेखि माँग गर्दै आएको थियो । २०६३ सालताका गाविसहरुबाट ५०–५० हजार रकम संकलन गरी विश्वविद्यालय संचालन गर्ने भनी वीरगन्जको हरिखेतान क्याम्पसका प्रमुख डा भगवान यादव नेतृत्वले खुब हल्ला पनि फिंजाएको थियो । तर उनको नेतृत्वमा रहेको समितिले कुनै माखो मार्न नसकेकै समयमा मधेश प्रदेशले २०७९ मा मधेशमा उच्च शिक्षाका लागि भनी यो विश्वविद्यालयको स्थापना गरेको हो ।
एमपीएको कक्षा पनि संचालन
साविकको नेशनल ट्रेडिङ लि.को भवन भाडामा लिएर विश्वविद्यालयको प्रशासनिक लगायत सबै गतिविधि त्यहीबाट संचालन गर्दै आएको मधेश विश्व विद्यालयले आगामी भदौ पहिलो हप्ताबाट माष्टर्स पब्लिक एड्मिनिष्ट्रेशन (एमपीए) अर्थात सार्वजनिक जनप्रशासन स्नातकोत्तरको अध्यापन पनि गर्र्ने भएको छ । यसका लागि विद्यार्थीको इन्ट्रान्स एक्जाम (प्रवेश परिक्षा) समेत गएको शनिबार लिइसकेको पाइएको छ । ३५ वटा कोटा पाइए अनुसार ५६ जना परिक्षार्थीहरुले शनिबार इन्ट्रान्स एक्जाम पनि दिइसकेको मधेश विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्यले बताए ।काठमाण्डौ, विराटनगर र पोखरामा अध्यापन हुँदै आएको यो संकाय मधेशमा पहिलो पनि भएको उनको भनाइ छ । स्नातकसम्मको अध्ययन सकेर सरकारी तथा गैर सरकारी संस्थाहरुमा कार्यरत जनशक्तिलाई लक्षित गरी मधेशमा पनि उच्च शिक्षाको लागि स्नातकोत्तरसम्मको अध्ययन गराउन एमपीएको कोर्ष संचालन गर्न थालेको उपकुलपति डा.शाक्यले राजधानी दैनिकसँग बताए ।
एमपीएका पिता भनी नेपालमा चिनिने प्रा.डा.श्रीकृष्ण श्रेष्ठ, डा.बुद्धिमान श्रेष्ठ र डा सुशिलभक्त माथेमा सहितको विज्ञ टोलीका बीचमा एमपीएको लागि प्रवेश परिक्षा शनिबार लिएको पनि विश्वविद्यालयले जनाएको छ । पहिलो वर्षका लागि प्राप्त ३५ कोटामा ५६ जना विद्यार्थी इन्ट्रान्स परिक्षामा सहभागी भएको पाइएको छ । त्यसको परिणाम पनि निस्किसकेको विश्वविद्यालयले जनाएको छ ।विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा सेक्सन अफिसरका रुपमा कार्य सम्पादन गर्दै आइरहेका तप्कालाई लक्षित गरी विश्वविद्यालयले उच्चशिक्षा संचालनमा ल्याउनु निकै प्रभावकारी कदम भएको एमपीएका पिता तथा प्रा.डा.श्रीकृष्ण श्रेष्ठले पनि बताए । सीधा एकप्रकारको प्रतिस्पर्धाबाट मात्र लोकसेवा पास गरी विभिन्न निकायमा कार्यरत जनशक्तिलाई बहुआयामिक फाइदा दिने एमपीएको शिक्षा अत्यन्तै व्यवहारिक हुने उनको तर्क छ ।
२०३५ सालदेखि एमपीएको प्राध्यापन गराउँदै आएका उनले सरकार र बजारको माग अनुसार नागरिकमैत्री सेवा दिनसक्ने जनशक्ति एमपीएको अध्ययन पश्चात मात्र हुने प्रा.डा.श्रेष्ठले बताए । राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारीका लागि यस्तो शिक्षा पदोन्नतिका लागि फलदायी हुने अर्का विज्ञ डा.बुद्धिमान श्रेष्ठको पनि भनाइ छ । समाज जसरी अगाडी बढ्दैछ सो अनुसारको शिक्षा अपरिहार्य हुने उनको पनि तर्क छ । यस्तो शिक्षा दिन र लिन निकै चुनौतिपूर्ण हुने यो क्षेत्रका विज्ञ डा. सुशिलभक्त माथेमाले पनि बताए । कोर्षसमेत निर्माणमा लागेका प्रा.डा.श्रीकृष्ण श्रेष्ठ, डा.बुद्धिमान श्रेष्ठ र डा.माथेमाले मधेशमा यस्तो शिक्षा समयसापेक्ष भएको पनि सुझाव दिए ।
पहिलो वर्ष नै कानून संकाय
विश्वविद्यालय स्थापनाको पहिलो वर्ष नै मधेश विश्वद्यिालयले कानून संकाय तर्फ बीएएलएलबीबाट अध्यापन सुरु गरेको थियो । पहिलो वर्ष अध्यापन अनुमति १ सय १० सिटको थियो । सो सिटका लागि पहिलो वर्ष नै ३ सय २५ जना विद्यार्थीहरुमध्येबाट इन्ट्रान्स एक्जाम (प्रवेश परिक्षा) बाट छनौट गर्न परेको थियो । आवेदन दिएजति विद्यार्थीले चाहेर पनि मधेश विश्वविद्यालयमा एड्मिसन पाएका थिएनन् मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय यादवले भने ।विद्यार्थीहरुका बीच कडा परिक्षा लिएर १ सय १० सिटमा विद्यार्थी अध्यापन सुरु गरेको दोस्रो वर्ष पनि सोही अनुपातमा विद्यार्थी भर्ना गरी अध्यापन गराइरहेको उनको भनाइ छ । अहिले विश्वविद्यालयमा बीएएलएलबी तर्फ २ सय १० जना र बीपीएएममा २५ जना विद्यार्थी अध्ययनरत छन् । योसँगै आगामी भदौ पहिलो साताबाट एमपीएमा पनि ३५ जना विद्यार्थी अध्ययनगर्न पाउने भएको मधेश विश्व विद्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार तर्फ विश्वविद्यालयलाई पर्साको बहुदरमाई नगरपालिका ३२ विघा जग्गा उपलब्ध गराईदै छ । यसको अलावा विश्वविद्यालयको मुल कार्यालय संचालनका लागि वीरगन्ज महानगरपालिकाले पनि साढे ३ विघा जमिन दिने प्रतिवद्धता जनाइसकेको खुलेको छ ।




.gif)





