images

२०८३ आश्विन १९ गते

images
images
images

आज नागपञ्चमी पर्व पूजाअर्चना सहित मनाइँदै,के छ धार्मिक विश्वास र महत्त्व ?

आज नागपञ्चमी पर्व पूजाअर्चना सहित मनाइँदै,के छ धार्मिक विश्वास र महत्त्व ?

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौँः आज देशभर परम्परा अनुसार नागपञ्चमी पर्व मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर यो पर्व मनाउने गरिन्छ।

    images
    images

    धार्मिक विश्वास र महत्त्वः धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

    नाग पूजाको प्रचलन वैदिककाल देखि सुरु भएको हो। वैदिक मान्यता अनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ र नाग रिसाएमा पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराज सँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

    images
    images

    नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन काल देखि छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जल माथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिन्छ। भगवान् गणेशको एक हातमा नाग छ भने लक्ष्मण र बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ।

    किंवदन्ती र पूजा विधिः नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा एक प्रख्यात किंवदन्ती छ। एक किसानले खेत खन्ने क्रममा नागका तीन बच्चा मारिदिए पछि नागिनीले क्रोधित भई किसानको परिवारलाई नै मारिदिइन्। संयोगले बाहिर रहेकी किसानकी छोरीलाई नागिनीले मार्न खोज्दा छोरीले अनुनय विनय गरी पूजाआजा गर्ने र दूध दिने बिन्ती गरिन्।

    छोरीको भक्तिबाट प्रसन्न भएकी नागिनीले किसानको सपरिवारलाई जीवनदान दिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सोही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ।

    आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूलका आठ वटा नागको ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोका माथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग,  घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।

    काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

    वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ। नागपञ्चमी पछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend