images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • मखानालाई ब्राण्डिङ गर्न कृषकलाई बजारीकरण सामग्री...

मखानालाई ब्राण्डिङ गर्न कृषकलाई बजारीकरण सामग्री वितरण

मखानालाई ब्राण्डिङ गर्न कृषकलाई बजारीकरण सामग्री वितरण

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • महोत्तरी ।  जिल्लाको मटिहानी नगरपालिकाले पोषकतत्वले भरिपूर्ण मखान (मखाना) को ब्राण्डिङ गर्न कृषकलाई बजारीकरणको सामग्री वितरण गरेको छ । मटिहानी नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत मखाना उत्पादन तथा बजारीकरण गर्ने किसानहरुलाई बजारीकरणका सामग्रीहरु बोरा, झोला तथा त्रिपाल सोमबार वितरण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । 

    images
    images

    मटिहानी नगरपालिकामा मखाना खेती गर्ने २१ जना कृषकहरुलाई उत्पादन क्षमताको आधारमा सयदेखि चार सयसम्म बोरा, २०० थान झोला र एक थान त्रिपाल वितरण गरेको हो ।  मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकाले मटिहानीको मखानालाई ब्राण्डिङ गर्ने उद्देश्यले विगत तीन वर्षदेखि मखाना खेती तथा खेती गर्ने कृषकहरुको लागि विभिन्न सामग्रीहरु वितरण गर्दै आएको बताउनुभयो । उहाँले मटिहानीको स्थानीय उत्पादन रहेको यस मखाना खेतीको विकास, उत्पादन वृद्धि एवं मखानाको बजारीकरण गर्न पालिकाले भरमग्दुर प्रयास गरिरहेको जानकारी दिनुहुँदै ब्राण्डिङ गर्ने उद्देश्यले नगरपालिकामा आउने पाहुनाहरुलाई उपहारस्वरुप मखाना कोसेली दिने गरेको बताउनुभयो । 

    नगरप्रमुख मण्डलले मटिहानी नगरपालिकामा करिब एक सयको हाराहारीमा पोखरी रहेको र त्यसमध्ये ५० जतिको पोखरीमा मखाना खेती हुने गरेको बताउनुहुँदै भन्नुभयो, ‘यहाँबाट वर्षेनी कम्तीमा ४ सय क्विन्टल मखाना नेपालको विभिन्न सहरमा जाने गरेको छ ।’ मटिहानीका दुई दर्जनभन्दा बढी परिवारको पेशा नै मखान खेती रहेको छ । मटिहानी नगरपालिकाको वडा नं. ६,७ र ८ मा बसोबास गर्दै आएका मल्लाह (सहनी), साह तथा मुस्लिम परिवारहरु मखाना खेती गरिरहेका छन् । मटिहानी नगरपालिकाका कृषि शाखाका सहसंयोजक टङ्कप्रसाद उपाध्यायले पालिकाको १२५ बिघामा मखाना खेती भइरहेको जानकारी दिनुहुँदै मटिहानी नगरपालिकाले यसमा लगानी गरिरहेपछि मखाना खेती गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

    images
    images

     पूजापाठदेखि लिएर हरेक कामकाजमा मखाना आवश्यक पर्ने भए पनि पानीको कारणले मखाना खेती गर्न तथा मखाना उत्पादकत्वमा कमी देखिएको छ । हिन्दुधर्ममा जन्मदेखि मृत्यु संस्कारसम्ममा मखानाको आवश्यकता पर्ने गरे पनि मखाना विशेषगरी दीपावली, कोजाग्रत पूर्णिमामा बढी प्रयोग हुने गरेको छ । केही महिना अगाडि मात्रै मटिहानीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मटिहानी नगरपालिकामा ३० क्विन्टलभन्दा बढी मखाना उत्पादन गर्ने हरि यादव, संजय सहनी, ललन मुखिया र विसुन सहनीलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । उक्त सामग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य रामलखन पंजियार, महोत्तरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मोहनप्रसाद गुप्ता, मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलीम अंसारी वडा ७ का वड़ाध्यक्ष जितनारायन माझीसहित मखाना खेती गर्ने कृषकहरुको उपस्थिति थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend