काठमाडौं । पछिल्लो समयमा बीमाको दायरासँगै बीमा व्यवसायमा पनि बढोत्तरी आउन थालेको छ । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठमसान्तसम्म झन्डै २ खर्ब बराबरको बीमा व्यवसाय गरेका छन् । यसअवधिमा करिब ४८ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन् ।
हाल संचालनमा रहेका बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठमसान्तसम्म कुल १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख बढी बीमाशुल्क आर्जन गरेका छन् । यो सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन १४.५१ प्रतिशतले बढेको हो । बीमा कम्पनीहरुको गत आवको जेठसम्म १ खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १६ प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ९.६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको जेठसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख बीमाशुल्क संकलन गरेका थिए ।
गत जेठसम्म जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् भने बीमा लेख नवीकरणबाट १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको जेठको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २६.९८ प्रतिशत तथा नवीकरण शुल्क १३.१३ प्रतिशतले बढेको हो ।बीमा कम्पनीहरुले आफ्नो व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगेको अनुपातमा बीमाको पहुँच विस्तारमा भने सामान्य सुधार देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत जेठ मसान्तसम्मको बीमा क्षेत्रको विवरणमा पछिल्लो १ वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या १.१८ प्रतिशत तथा कर्मचारी संख्या ४.८० प्रतिशतले बढेको छ ।
बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को जेठ महिनासम्मको तथ्यांक अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या ४७.९५ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३.९५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत जेठसम्म १६.९८ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ । अघिल्लो वर्षको जेठसम्म १७.६४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए। म्यादी, लघुम्यादी बिमालेखसहित भने गत जेठसम्म ३९.७५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ ।
गत जेठसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ५४ लाख ९८ हजार ७०१ वटा छन् । यस्तै कुल सक्रिय निर्जीवन बिमालेखको संख्या २९ लाख २६ हजार ५२९ रहेको छ । समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या १० प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ७.८७ प्रतिशतले बढेको छ । तर यस अवधिमा कुल जारी भएका जीवनबीमालेखको संख्या ३.१ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।




.gif)





