गोरखाः १३ असार। गोरखाका किसानहरूले यस वर्ष लिची खेतीबाट मनग्य आम्दानी गरेका छन्। अनुकूल मौसम र सुदृढ बगान व्यवस्थापनका कारण उत्पादनमा वृद्धि हुँदा जिल्लामा ११ करोड १५ लाख रुपैयाँ बराबरको लिची बिक्री भएको हो।
कृषि ज्ञानकेन्द्र गोरखाका अनुसार यो आम्दानी गत वर्षको तुलनामा करिब एक करोड १५ लाख रुपैयाँले बढी हो। गत वर्ष जिल्लामा १० करोड रुपैयाँको लिची बिक्री भएको थियो। उत्पादन तर्फ पनि गत वर्षको १५९७ मेट्रिक टनबाट बढेर यो वर्ष १७१६ मेट्रिक टन पुगेको छ भने खेतीको क्षेत्रफल पनि १८० हेक्टरबाट १८७ हेक्टरमा विस्तार भएको छ।
ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले मौसमको साथ र किसानको मेहनत दुवैले सफलता मिलेको बताउनु भयो। “यस पटक लिची फुल्ने र दाना लाग्ने समयमा मौसमले राम्रो साथ दियो,” उहाँले भन्नुभयो, “किसानहरूले पनि समयमै मलजल, सिँचाइ र औषधि उपचारमा ध्यान दिएकाले उत्पादन र गुणस्तर दुवै राम्रो भयो।” उत्पादित लिचीले प्रतिकेजी औसत ६५ रुपैयाँ मूल्य पाएको उहाँले जानकारी दिनुभयो।
गोरखामा लिची उत्पादनको मुख्य केन्द्र पालुङटार नगरपालिका हो। जिल्लाको कुल उत्पादनको करिब ८० प्रतिशत हिस्सा पालुङटारको वडा नम्बर ६, ७ र ८ ले ओगट्ने गरेका छन्। यस क्षेत्रमा मात्रै करिब ३० हजार लिचीका बोटबाट व्यावसायिक उत्पादन हुँदै आएको ज्ञानकेन्द्रले जनाएको छ।




.gif)





