काठमाडौंः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटे पनि कारोबार रकम भने उत्साह जनक रूपमा बढेको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्बभन्दा बढीले वृद्धि हुँदै ७ अर्ब ७८ करोड रुपैयाँ नाघेको हो।
बिहीबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा बन्द भयो। यस दिन ३०६ कम्पनीको १ करोड ९६ लाख कित्ता भन्दा बढी सेयर ७४ हजार पटक भन्दा बढी किनबेच हुँदा कुल ७ अर्ब ७८ करोड २ लाख रुपैयाँको कारोबार भयो ।
बिहिबारको बजारमा ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.१८ प्रतिशतले बढ्यो। त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको सेयर मूल्यमा करिब ९ प्रतिशतको वृद्धि देखियो। यता, रिलायबल समृद्धि योजनाको इकाईमूल्य भने सर्वाधिक ९.३० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी, राधी विद्युत कम्पनीको ३९ करोड र ङादी ग्रुप पावरको ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूह मध्ये ४ वटाको परिसूचक बढ्यो भने ९ वटाको घट्यो। विकास बैंक उपसमूहको सूचक सर्वाधिक १ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.८७ प्रतिशतले घट्यो। जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको सूचकमा पनि सामान्य सुधार देखियो।




.gif)





