काठमाडौँः आज एकै पटक छवटा संसदीय समितिको बैठक बस्दै छ । जस अन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नर सँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाहीका सम्बन्धमा छलफल हुनुका साथै वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रक्रिया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निवेदन उपर छलफल हुनेछ।
यस्तैगरी बैठकमा श्रमसँग सम्बन्धित कानुन समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल र हवाई टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा इपिएस मार्फत दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरी माथि छलफल हुनेछ ।
यस्तैगरी बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।
यस्तैगरी बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ ।
यस्तैगरी बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०।०८१ र बजेट वक्तव्य २०८०।०८१ मा व्यक्त वन तथा वातावरण मन्त्रालय सँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धिहरूका सम्बन्धमा मन्त्रालय सँग छलफल हुनेछ ।




.gif)





