काठमाडौंः नेपाल बिमा प्राधिकरणले उल्लेख्य मात्रामा दरबन्दी थप गर्ने भएको छ । प्राधिकरणले १०० बढी नयाँ कर्मचारी दरबन्दी थप गर्ने सहितको प्रस्ताव केही अघि मात्रै अर्थ मन्त्रालय पठाएको हो । बोर्ड बैठकले पारित गरेर स्वीकृतिका लागि केही दिन अगाडि मात्रै उक्त प्रस्ताव अर्थ मन्त्रालय पठाएको प्राधिकरणका कार्यकारी निर्देशन एवं प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिएका छन।
प्राधिकरणका अनुसार १ कार्यकारी निर्देशक, ३ निर्देशक, १७ जना उपनिर्देशक, ५० सहायक निर्देशक र केही सुब्बा गरी १०० बढी दरबन्दी थपको प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ । अहिले प्राधिकरणमा एक कार्यकारी निर्देशक, ६ निर्देशक, २५ उपनिर्देशक, ५३ जना सहायक निर्देशक छन् ।
प्राधिकरणमा हाल ११३ जनाको दरबन्दी छ भने करार सहित गरेर १५८ जना कर्मचारी छन् । चालु आर्थिक वर्ष २०८१।८२ को चैत मसान्त सम्ममा ३७ वटा बिमा कम्पनी सञ्चालनमा रहेका छन् ।
कार्य प्रकृतिको आधारमा १४ जीवन बिमा, १४ निर्जीवन बिमा, ७ लघुबीमा (३ जीवन लघुबिमा र ४ निर्जीवन लघुबिमा) र २ पुनर्बिमा कम्पनीले व्यवसाय गर्दै आइरहेका छन्। त्यसैगरी लगानीको आधारमा सरकारी लगानीको ३, स्वदेशी लगानीको २९, विदेशी कम्पनीको शाखा कार्यालय ३ र संयुक्त लगानीको २ बिमा कम्पनीहरू सञ्चालनमा छन्।
चालु आवको चैत मसान्त सम्ममा जीवनमा १ हजार ७८२, निर्जीवनमा १ हजार २७ र लघु बिमामा १९० गरी जम्मा शाखा संख्या २ हजार ९९९ पुगेको छ । २०८० को चैत्र मसान्त सम्ममा जीवनमा १ हजार ७७७ निर्जीवनमा १ हजार ३१ र लघु बिमामा १२८ गरी जम्मा शाखा संख्या २ हजार ९३६ थियो ।
प्रदेशगत शाखा कार्यालय सबै भन्दा बढी बागमती प्रदेशमा ८३६ वटा र सबै भन्दा कम कर्णाली प्रदेशमा १६८ वटा सञ्चालनमा छन् । चैत मसान्त सम्ममा जीवनमा १ हजार ८४४, निर्जीवनमा १ हजार १५५ गरी जम्मा शाखा संख्या २ हजार ९९९ पुगेको छ भने जीवन तर्फ ६ हजार ०५५ र निर्जीवन तर्फ ६ हजार ३६ गरी कुल १२ हजार ९१ जना कर्मचारी कार्यरत छन् ।
चालु आवको चैत मसान्त सम्ममा करिब ४ लाख अभिकर्ता अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन् । यो संख्या गत आवको तुलनामा ३३.४२ प्रतिशतले बढी हो । त्यसैगरी, निर्जीवन बिमा व्यवसायको क्षति मूल्याकंन गर्ने १ हजार ४१५ सर्भेयर इजाजत प्राप्त गरी रोजगारीमा संलग्न रहेका छन् । साथै १६ वटा पुनर्बीमा दलाल इजाजतपत्र प्राप्त गरी कार्यरत रहेको प्राधिकरणको तथ्यांक छ ।




.gif)





