काठमाडौंः नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल सम्म नेपालमा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो एक सातामा बाग्मती प्रदेशमा १९,मधेशमा ४,सुदुरपश्चिममा ४,कोशीमा २ र गण्डकीमा १ कोरोना संक्रमित फेला परेका छन्। भारतमा तीव्र गतिमा फैलिएको कोरोनाका कारण नेपालमा पनि यसको त्रास आम मानिसमा रहेको छ। भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएकोले धेरैले त्रासित भएका छन्।
नयाँ कोरोना कति खतनाक छ ?
हाल भारतमा ओमिक्रोनको विकसित रुप एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको शुक्रराज ट्रपिकल तथा अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन्। यो ओमिक्रोन जस्तै संक्रामक भएपनि कम घातक भएको उनी बताउँछन् । उनका अनुसार यो ओमिक्रोनको विकसित रुप हो।
यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पताल सम्म पुर्याए पनि आइसियूमा भर्ना हुने दर निकै न्युन रहेको डा.पुनको भनाइ छ। उनी भन्छन् भारतमा धेरै जनसङ्ख्या छ, धेरैले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन, त्यसैले पनि धेरै सङ्क्रमित पुष्टि भएको हुनसक्छ ,तर, आइसियूमा भर्ना दर भने निकै न्युन छ।’ कोभिड नेपालमा आउने जाने क्रम चलि नै रहेकोले पनि त्यसमा आत्तिनु पर्ने अवस्था नरहेको डा.पुन बताउँछन्।
‘संक्रामक भाइरस भएपनि धेरै नै घातक रहेको भन्ने अहिले सम्म छैन’ यद्यपि ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई जटिलता ल्याउने सम्भावना छ, वेवास्ता गर्नु भएन तर आत्तिनुपर्ने अवस्था पनि छैन, डा. पुनले भने। सकभर भीडभाडमा सामेल नहुने, मास्कको अनिवार्य गर्ने,साबुन पानीले हात धुने,रुघाखोकी लाग्दा सतर्कता अपनाउने लगायत रोकथामका उपायहरु अपनाउन डा.पुनको सुझाव छ।
ओमिक्रोनको एनबी.१.८.१ भाइरसका लक्षण कोरोना भाइरस श्वाप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो। कोरोना भाइरसको सङ्क्रमण हुँदा सामान्य फ्लुका जस्तै लक्षण देखिने डा पुन बताउँछन्।
उनका अनुसार रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, आलश्य हुने, मांशपेशी दुख्ने, जिउ दुख्ने, नाक बन्द हुने, झाडा पखाला लाग्ने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन्।
उक्त भाइरसका सामान्य लक्षण देखिने तर लक्षण सामान्य भनेर हेलचक्राइ भने गर्नु नहुने डा.पुनको सुझाव छ। जोखिम समूहले हेलचेक्राइ गरेमा बिरामीको मृत्यु समेत हुन सक्नेमा उनी सचेत गराउँछन् । हाछ्यु गर्दा, सिङ्गान, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने डा.पुनले जानकारी दिए।
सतर्कता अपनाइएको छ, इडिसिडी निर्देशक डा.झा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले त्यसका लागि विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यमन्त्री पौडेलसहित बैठक बसिसकिएको बताए । डा.झाका अनुसार उक्त बैठकपछि निगरानी प्रणालीलाई एकदमै बलियो बनाउने निश्कर्ष निकालिएको छ।
‘हामीले सतर्कता भने अपनाएका छौं, उनले भने सीमा प्रवेश नाका तथा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई पनि बढी प्रभावकारी बनाउनका छौं। कोरोना परीक्षणका किटहरु स्टकमा रहेको उनले बताए। सबै नाकामा अहिले नै किटहरु वितरण गर्नुपर्ने अवस्था नभएकोले आवश्यकता अनुसार वितरण गरिने उनले जानकारी दिए। महाशाखाले कोभिड १९ का लक्षणहरु तथा यसबाट बच्ने उपायका लागि जनचेतना फैलाउने कार्य समेत गरिरहेको उनको दाबी छ।
रोकथामका लागि औषधीजन्य सामग्रीहरुको लिष्ट पठाइएको उनी बताउँछन्। सामान्य अवस्थामा पनि महाशाखा महामारीसँग जुध्नका लागि तयारी अवस्थामा नै रहेको डा.झाको दाबी छ।




.gif)





