आँबुखैरेनी गाउँपालिकाले मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्न मह र मासमा अनुदान दिइएको हो।गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मास खेतीमा आकर्षित गर्न प्रतिकिलो २५ रुपैयाँका दरले अनुदान दिइएको छ। आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत ३ लाख ९३ हजार ४५० रुपैयाँ अनुदान पाएका छन्।
पालिकाले मह र मासलाई हाटबजारसम्म ढुवानीको व्यवस्था पनि गरेको छ। केसीले भने, ‘पालिकामा मास र मह उत्पादनको सम्भावना छ। किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो। प्रतिकिलो २५ रुपैयाँका दरले अनुदान दिन्छौँ।’चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध १२३ किसानले अनुदान पाएका छन्। आँबुखैरेनी–४ को थामचुली मौरीपालक कृषक समूहका किसानले ४५० किलो मास र २५८ किलो मह उत्पादन गरी १७ हजार ७०० रुपैयाँ अनुदान पाए।त्यस्तै, आँबुखैरेनी–४ को खस्राङ गाउँ कृषक समूहका किसानले २ हजार ७९७ किलो मास उत्पादन गरी ६९ हजार ९२५ रुपैयाँ अनुदान पाए। आँबुखैरेनी–५ को माइ छिम्केश्वरी कृषक समूहका किसानले ८७१ किलो मास उत्पादन गरी २१ हजार ७७५ रुपैयाँ अनुदान पाए।
आँबुखैरेनी–५ को खोलागाउँ कृषक समूहका किसानले २ हजार ५९० किलो मास उत्पादन गरी ६४ हजार ७५० रुपैयाँ अनुदान पाए। इन्द्रदेवी कृषक समूहका किसानले १ हजार ५० किलो मास उत्पादन गरी २६ हजार २५० रुपैयाँ अनुदान पाए। भुकुण्डी खेउसिङ कृषक समूहका किसानले ६ हजार ७ किलो मास उत्पादन गरी १ लाख ५० हजार १७५ रुपैयाँ अनुदान पाए। आँबुखैरेनी–४ को थानीमाइ कृषक समूहका किसानले १,७३२ किलो मास र ११ किलो मह उत्पादन गरी ४३ हजार ५७५ रुपैयाँ अनुदान पाए।
खोलागाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएको बताए। रासससँग उनले भने, ‘मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन्।’ भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरे। रासस




.gif)





