काठमाडौंः आज वैशाख १२ गते शुक्रबारका दिन राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस ऋणपत्रमा आवेदन दिने सक्नेछन्।
वैशाख २१ गतेसम्म आवेदन दिने म्याद थप भएपनि मागभन्दा बढी आवेदन परेकाले आज देखि उक्त ऋणपत्रको बिक्री बन्द हुने कम्पनीले जानाकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो। जसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ। बाँकी १० लाख इकाई मध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ।
९ लाख ५० हजार इकाईमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो। उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ। यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको उल्लेख छ।
लगानीकर्ताले न्यूनतम २५ इकाई देखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ।




.gif)





